झापा,असोज २४ । हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीले साढे तीन लाख रुपैयाँ जरिवाना तिरेर झापा ३ मा एमाले गठबन्धनका तर्फबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा उनी एमालेका तर्फबाट हल्दिवारी गाउँपालिकाको अध्यक्ष पदमा उठेका थिए । त्यस निर्वाचनमा उपविजेता बनेका गिरीले समयभित्र निर्वाचनको खर्च विवरण बुझाएका थिएनन् । त्यसकारण उनले निर्वाचन आयोगले तोकेको साढे तीन लाख रुपैयाँ जरिवाना हिजो तिरेर झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । बिहान १० बजे जरिवाना तिरेर गिरीले दिउँसो झापा ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले बताए ।उनले स्थानीय तहको उम्मेदवार बनेर खर्च विवरण नबुझाउने एकजनाबाट मात्र हिजो मनोनयनका दिन जरिवाना असुल भएको जानकारी दिए । गिरीको उम्मेदवारी मात्र लिङ्देनप्रति लक्षित छ । लिङ्देनसंग नै प्रतिष्पर्धा गर्न उठेका गिरीले एमालेले उठाएको प्रदेशसभा सदस्यका उम्मेदवारहरु बसन्त बानियाँ र छवि चुडालको लागि भने भोट मागिरहेका छन् ।

लामो समयदेखि एमालेमा आबद्ध भई सक्रिय राजनीतिमा लागेका उनी नेकपा एमालेका जिल्ला सदस्य तथा सचिवालय सदस्य हुन् । झापा क्षेत्र नम्बर ३ लाई विकास र समृद्धितर्फ डोर्याउन भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्। हकी स्वभाव, निडर, साहसी, क्षमतावान् गिरी युवाहरूमा लोकप्रिय छन्। राप्रपासंग हल्दिवारीमा स्थानीय निर्वाचन हारेका गिरी झापा ३ मा एमाले र राप्रपाबीचको तालमेलप्रति सन्तुष्ट छैनन् । अघिल्लो निर्वाचनमा राप्रपाका अध्यक्ष लिङ्देनलाई सहयोग गरेर जिताएको एमालेले यसपटक पनि उसैलाई सघाउने भएपछि उनी बागी उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन् ।उनले फेसबुकमा यस्तो लेखेका छन् ।
आदरणीय झापा क्षेत्र न. ३ बासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
म विगत २०६२÷६३ को जनआन्दोलनसँगै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा रूपान्तरण गर्ने अभियानमा नेकपा एमालेमार्फत संगठित भई नेकपा एमालेको साबिक जलथल गाउँ कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी क्षेत्र नं. ३ को अध्यक्ष, युवा संघ नेपाल झापाको अध्यक्ष हुँदै हाल नेकपा एमाले झापा जिल्ला कमिटी सचिवालय सदस्य एवम् क्षेत्र न. ३ को सचिव समेतको जिम्मेवारीमा रहेको सर्वविदित्तै छ ।
राजतन्त्र, पञ्चायती व्यवस्थाको अन्त्य भई मुलुक गणतान्त्रिक व्यवस्थामा रूपान्तरित भएसँगै अब आर्थिक सामाजिक रूपान्तरणको माध्यमबाट समाजवादका आधारहरू निर्माण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न गठबन्धन होइन बलियो राष्ट्रिय शक्ति आजको आवश्यकता हो । त्यसका लागि नेकपा एमालेले मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने आम नेपाली जनताको चाहनाविपरीत झापा क्षेत्र नं. ३ मा पुरातन पञ्चायती शैलीको पार्टी राप्रपासँग तालमेल गर्ने पार्टीको निर्णय आम पार्टी नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना र मुलुकको हितविपरीत रहेको ठहर गर्दै स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गरेको जानकारी गराउन चाहन्छु ।
एमालेले सहयोग गर्ने कुरामा शंका छैन–लिङ्देन
उता एमालेको सहयोगमा दोस्रो कार्यकालका लागि राप्रपाका तर्फबाट झापा ३ मा उम्मेदवारी दिएका अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचनमा एमालेले सहयोग गर्ने कुरामा कुनै शंका नरहेको बताएका छन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा हिजो मनोनयन दर्ता गराएपछि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उनले गिरीले दिएको उम्मेदवारीका सम्बन्धमा कसैले पनि स्वतन्त्र रुपमा उठ्न पाउने अधिकार रहेको प्रतिक्रिया दिए । ‘कसैले पनि स्वतन्त्र रुपमा उठ्न पाउँछ, म उहाँको बारेमा टिप्पणी गर्दिनँ’ उनले भने‘ तर , मलाई एमालेले सहयोग गर्ने कुरामा शंका छैन । मत नआउने कल्पना पनि गर्न सक्दिनँ ।’ उनले एमालेसंग तालमेल गरेर राप्रपाले मात्र बर्बाद गरेको भनेर नबुझ्न आग्रह गर्दै तालमेल , गठबन्धनजस्ता सहकार्य निर्वाचनमा सामान्य भइसकेको बताए ।



