झापा, असोज २६ । राप्रपा नेपालले नेकपा (एमाले)लाई समर्थन जनाउँदै एमालेका उम्मेदवार भएको सबै क्षेत्रबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।

राप्रपा नेपालका चार जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । राप्रपा नेपालका सन्तराज कार्कीले झापा क्षेत्र नम्बर–१, कमलप्रसाद खरेलले झापा–२, विजयप्रसाद राजवंशीले झापा–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्। खरेल राप्रपा नेपालका जिल्ला अध्यक्ष हुन्।

त्यस्तै झापा–५ (२) बाट राप्रपा नेपालका वासुदेव भट्टराईले प्रदेशसभा सदस्यको उम्मेदवारी फिर्ता लिएका छन्। तर, एमाले गठबन्धनकै अर्को दल राप्रपाका उम्मेदवार भएको क्षेत्रमा राप्रपा नेपालले उम्मेदवारी फिर्ता लिएको छैन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उम्मेदवार रहेको झापा ३ मा राप्रपा नेपालका तर्फबाट देवीरमण भट्टराई उम्मेदवार बनेका छन् भने एमालेसंगको भागवन्डा पाएर झापा क्षेत्र नं १ को ‘ख’मा राप्रपाका तर्फबाट उम्मेदवार बनेकी सविना बजगाईविरुद्ध राप्रपा नेपालका कल्याण खड्का उम्मेदवार छन् । खड्का राप्रपा छोडेर राप्रपा नेपालको उम्मेदवार बनेका हुन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको सूर्य चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा एमालेले उम्मेदवारी दिएको सबै क्षेत्रमा आफूहरुले उम्मेदवारी फिर्ता लिएको पार्टीका जिल्ला अध्यक्ष खरेलले बताए। एमाले उम्मेदवार नभएका क्षेत्रहरूमा राप्रपा नेपालको उम्मेदवार कायम रहेको उनको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्