झापा, कात्तिक २ । झापाको गौरादहमा भतिजलाई गोली प्रहार गरी घाइते बनाएपछि आफैलाई गोली हानेर एक जनाले आत्महत्या गरेका छन् ।

घरायसी विवादको क्रममा भतिजमाथि गोली प्रहार गरेका गौरादह नगरपालिका–८ स्थित जुरोपानी निवासी ३५ वर्षका बिरन शाहले घटनापछि आफैलाई गोली हानेका हुन् ।उनले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार साँझ ७ बजे बिरनले सामान्य घरायसी विवादको क्रममा उनका दाई उमेश साहका छोरा भतिज पर्ने १५ वर्षीय हेमराज साहलाई आफ्नै घर अगाडि सानो चाइनिज (होम मेड पेस्तोल) ले गोली प्रहार गरी घाइते बनाएका थिए । हेमराजको ढाडमा गोली लागेको थियो । घाइते भएका उनलाई तत्काल उपचारको लागि लाइफलाइन अस्पताल दमक लगिएको र त्यहाँबाट थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको छ ।

घटना भएलगतै घटनास्थल पुगेका इलाका प्रहरी गौरीगञ्जको टोलीले गोली हान्ने बिरनको खोजी गर्ने क्रममा घरदेखि १०० मिटर उत्तर पर्ने सुकुना खोला किनारमा कन्चटमा गोली लागेको अवस्थामा उनलाई मृत फेला पारेको डीएसपी पाठकले बताए । मृतक विरेन सशस्त्र प्रहरीबाट अवकाश प्राप्त कर्मचारी हुन् । प्रहरीले एक थान होम मेड पेस्तोल, दुई थान म्यागेजिन र १४ राउन्ड गोली समेत फेला परेको छ ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय गौरीगञ्जका इन्स्पेक्टर जितेश दाहालको कमान्डमा खटिएको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्