झापा , कात्तिक ४ । भर्खरैको स्थानीय तहको निर्वाचनमा बिर्तामोड नगरपालिकाको उपप्रमुखमा एकीकृत समाजवादीका उम्मेदवार तीर्थराज सिग्देलले २०३ मत ल्याए । बिर्तामोडको तीनवटा वडाको वडाध्यक्षमा एकीकृत समाजवादीले उम्मेदवारी दिएकोमा वडा नं १ का केदार ओडारीले ६६ , ४ का श्रीप्रसाद सिटौलाले ४५ र ८ का कृष्ण विष्टले ४९ मत पाए । सोही पार्टीबाट कनकाई नगरपालिकाको उपप्रमुखमा उठेकी अम्बिकादेवी महतले ६४ मतमा चित्त बुझाइन् । चार महिनाअघि त्यति जनमत पाएको एकीकृत समाजवादीले गठबन्धन गरेर झापा क्षेत्र नं २(१)मा प्रदेशसभा निर्वाचन लड्दैछ ।

त्यस प्रदेश क्षेत्रअन्तर्गत बिर्तामोड नगरपालिकाको १ देखि ९ सम्मको वडा र कनकाई नगरपालिकाको ८ र ९ नं वडा पर्दछन् । जुन भूगोलमा ५९ हजार ३८४ मतदाता रहेका छन् । नयाँ पार्टी खोलेर पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिएको एकीकृत समाजवादीले यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अर्काकै मतले चुनाव जित्नुपर्ने बाध्यता छ । स्थानीय निर्वाचनमा जनमत कमजोर रहेकाले एकीकृत समाजवादीका उम्मेदवारलाई निकै चुनौती देखिएको छ ।

झापा क्षेत्र नं ३ का पुष्प पोखरेललाई एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट झापा क्षेत्र नं २(१)को उम्मेदवार बनाएको छ । उनी क्षेत्र नं ३ का पूर्व सांसद हुन् । तर, क्षेत्र नं २ का आम मतदाताका लागि भने त्यति परिचित होइनन् । गठबन्धनको सहयोगमा आफूले चुनाव जित्ने आशा गरेको उम्मेदवार पोखरेलले बताए । ‘ जीत हार गठबन्धनबीचको सहकार्यमा निर्भर छ ’उनले भने ,‘ गठबन्धनका साथीहरुले हार्दिकताका साथ सहयोग गरिरहनु भएको छ । ’ उनले आफूले निर्वाचन लड्न लागेको प्रदेश क्षेत्रमा एकीकृत समाजवादीका कार्यकर्ताको संख्या बताउन सकेनन् ।

गठबन्धनका उम्मेदवार पोखरेलको प्रतिष्पर्धी नेकपा एमालेका एकराज कार्की छन् । उनी त्यही क्षेत्रका निवर्तमान प्रदेश सांसद हुन् । कार्कीले आफ्नो प्रतिष्पर्धी नै नभएको र शतप्रतिशत जीत हासिल गर्ने कुरा अहिले नै घोषणा गर्दा हुने बताएका छन् । एकीकृत समाजवादीले उम्मेदवार नपाएर अर्को क्षेत्रबाट उम्मेदवार ल्याएको बताउँदै कार्कीले प्रतिनिधिसभा सदस्यका लागि अर्को क्षेत्रका व्यक्तिले उम्मेदवारी दिएपनि प्रदेशसभाका लागि बाहिरबाट ल्याएको यो पहिलो घटना भएको टिप्पणी गरे ।

त्यसो त सत्ता गठबन्धनमा प्रतिनिधिसभाको १९ सिट पाएको एकीकृत समाजवादीले ७ क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार सामना गरिरहेको छ । स्थानीय निर्वाचनमा जनमत कमजोर रहेकाले एकीकृत समाजवादीका झन्डै आधा उम्मेदवार बागीका कारण ‘रेड जोन’ मा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्