झापा, कात्तिक ५ । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं १ बाट नेपालका लागि नेपाली पार्टीका उम्मेदवार मुकुन्द दाहालले विश्वप्रकाश शर्मा र अग्नी खरेलको राजनीति हेरेर आफूलाई लाज लागेको बताएका छन् ।

ठूला पार्टीका ती नेताहरु हिजो चप्पल लगाएर हिड्ने गरेकोमा के के गरेर आज अकुत सम्पति कमाएको उनले आरोप लगाए । आफ्नो उम्मेदवारी र चुनाव प्रचारप्रसारका बारेमा जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रत्यक्षतर्फका उम्मेदवार दाहालले ठूला पार्टी र तिनका नेताले गरेका हरेक गलत गतिविधिलाई नजरअन्दाज गर्न नसकिने बताए । ‘ ठूला भनाउँदा पार्टीहरु बाघ होइनन् ’उनले भने ,‘अत्याचार अति भएपछि उपस्थितिकै लागि भएपनि उम्मेदवारी दिएको हुँ ।’ उनले हार्नु जित्नु सवाल नभएको भन्दै हारेपनि आफू जनतासंगै रहने बताए ।

बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने केन्द्रीय अध्यक्ष रहेको नेपालका लागि नेपाली पार्टीले गोलाकारभित्र शंख चुनाव चिन्ह लिएर निर्वाचन लड्दैछ । सो पार्टीले ५६ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । झापा १ का उम्मेदवार दाहालले भने ८ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

संविधान संशोधन गरी संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र खारेज गरी हिन्दु, बौद्ध र किरातसहित सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य कायम गर्ने, प्रदेश सरकार खारेज गरी २ तहको सरकार लागू गर्ने, स्थानीय सरकारलाई थप कानूनी अधिकार दिने , प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, संसद सदस्य मन्त्री बन्न नपाउने संवैधानिक व्यवस्था गर्ने, केन्द्रीय संसदमा ११५ सांसद र ११ जना मन्त्री मात्र रहने संवैधानिक व्यवस्था गर्ने ,यसबाट बचत भएको पैसाले शिक्षा र स्वास्थ्य पूर्णरुपमा निःशुल्क गर्ने, पञ्चायतकालदेखि हालसम्मका सबै राजनीतिज्ञ र उच्च ओहदाका भ्रष्टाचारीहरुको जनताद्वारा गठित नागरिक आयोगबाट छानबिन गरी भ्रष्टाचार गरेको रकम जफत गरी उक्त सम्पत्ति गरिबी निवारण, युवा रोजगार, स्वास्थ्य उपचार, महिला सशक्तिकरण र बृद्धभत्ता वृद्धि गर्ने कार्यमा लगाउने , नेतालाई २०६३ सालयता सरकारले बाँडेको आर्थिक सहायता र औषधि उपचारको रकम व्याजसहित असुल उपर गरी उक्त रकमबाट बृद्धभत्तामा वृद्धि गर्ने , आर्थिक वर्ष साउन १ गतेलाई हटाई वैशाख १ देखि चैत्र मसान्तसम्म कायम गरी असारे विकासका नाममा भएको विनास बन्द गर्ने, निर्वाचन प्रणालीमा आमुल परिवर्तन गरी नागरिकको स्वतन्त्र आयोगबाट जुन व्यक्ति भ्रष्टाचारमा संलग्न छैन भनी छानबिन गरी पत्र दिएपछि मात्र निर्वाचनमा उम्मेदवार हुन पाउने संवैधानिक व्यवस्था गर्ने प्रतिवद्धता जनाइएको छ ।

कार्यक्रममा पार्टीका जिल्ला संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीको अवधारणाका बारेमा प्रष्ट्याएका थिए । कार्यक्रममा समानुपातिक उम्मेदवारहरु खेमकुमारी मिश्र,सुनिता तामाङको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्