कुमरखोद, कात्तिक ६ । झापा गाउँपालिका उद्योग वाणिज्य संघले शुभकामना आदानप्रदानसहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमा ४१ जनाले रगत दान गरेका थिए । रगत दान दिनेहरुमा अधिकांश म्यादी प्रहरी , शिक्षक , व्यापारीहरु रहेका थिए ।
डिल्लीराज माविको सभाहलमा झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपालको अध्यक्षतामा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष अन्जुदेवी थपलिया ,भारत दिघलबैक ग्राम पंचायतका मुखिया पुनम देवी सिंहको विशेष आतिथ्य रहेको थियो । प्रमुख अतिथि रहेका शाहले दिघलबैक बोर्डर नाकामा यातायात सचालनका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले भारत दिघलबैक ग्राम पंचायतका मुखिया सिंहलाई बोर्डरमा दुई पाङ्ग्रे यातायात संचालनमा सहयोग गरेकोमा धन्यवाद दिए। त्यसैगरी विशिष्ट अतिथि भारत दिघलबैक ग्राम पंचायतका मुखिया सिंहले बोर्डरको समस्याका बारेमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई ध्यानाकर्षण गराउने प्रतिवद्धता जनाइन् ।
झापा गाउँपालिका उद्योग वाणिज्य संघकी उपाध्यक्ष बसुन्धरा थपलियाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि शाह , विशिष्ट अतिथिहरु अन्जुदेवी थपलिया , मुखिया पुनम देवी सिंह ,सन्तोष गणेश , महेन्द्र प्रसाई , केशव कटुवाल , ताहिर मुल्वीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन उद्योग वाणिज्य संघका महासचिव भविन्द्र भण्डारीले गरेका थिए ।
।



