झापा, कात्तिक ६ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन आयोगले मागेको स्पष्टीकरणको जवाफ दिएका छन् ।
उनले २४ घण्टाभित्र स्पष्टीकरण दिएका हुन् । आइतवार दिउँसो २ बजेर १ मिनेटमा आफै जिल्ला निर्वाचन कार्यालय पुगेर झापा क्षेत्र नं १ का उम्मेदवार शर्माले लिखित जवाफ बुझाएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । उनले शर्माको सो जवाफ निर्वाचन आयोगलाई पठाएको जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयले आयोगबाट प्राप्त स्पष्टीकरणको पत्र झापा क्षेत्र नं १ का उम्मेदवार शर्माका प्रतिनिधि अशोक पोखरेललाई बुझाएको थियो । शनिवार दिउँसो ३ बजेर ५ मिनेटमा उम्मेदवार शर्माका प्रतिनिधि पोखरेललाई आयोगको स्पष्टीकरणको पत्र बुझाइएको थियो ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि आयोगले महामन्त्री शर्मालाई २४ घण्टे स्पष्टीकरण पत्र बुझाएको थियोे । महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको पाइएको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए ।




