झापा, कात्तिक १० । आगामी मंसिर ४ गतेको प्रदेशसभा निर्वाचनका लागि झापाको क्षेत्र नं ३(१) बाट बसन्तकुमार बानिया र भूमिप्रसाद राजवंशी दोस्रो पटक आमनेसामने हुँदैछन् ।

यसअघि २०७४ को निर्वाचनमा पनि दुवैजना भिडेका थिए । त्यसबेला बानियाले जीत हासिल गर्दा राजवंशीले हार ब्यहोरेका थिए । तर यसपटक भने भिडन्त फरक देखिएको छ ।
२०७४ को निर्वाचनमा बानियाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेर निर्वाचन लडेका थिए । त्यस निर्वाचनमा उनी ५ हजार ५४८ मतान्तरले निर्वाचित भएका थिए । बानियाले २२ हजार ५५३ मत ल्याउँदा राजवंशीले १७ हजार ५ मत पाएका थिए । तर यस पटकको निर्वाचनमा एमालेका उम्मेदवार बानियालाई राप्रपाले मात्र साथ दिएको छ । तत्कालीन नेकपाबाट चोइटिएको माओवादी र एकीकृत समाजवादीले कांग्रेसका उम्मेदवार राजवंशीलाई साथ दिँदैछन् । बानिया २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि झापा क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए । त्यसबेला एमालेका उम्मेदवार बानिया चौथो भएका थिए । कांग्रेसका कृष्णप्रसाद सिटौलाले जितेको त्यस निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देन दोस्रो र माओवादीकी धर्मशीला चापागाई तेस्रो भएका थिए । २०७० को निर्वाचनमा चौथो शक्तिको रुपमा रहेको एमालेले राप्रपा र माओवादीको सहयोगमा २०७४ मा झापा क्षेत्र नं ३(१) मा निर्वाचन जितेको थियो । तर, यसपटक त्यो अनुकुलता छैन । एमालेको साथमा राप्रपा मात्र छ ।
चुनावी तालमेल फरक भएपनि आफ्नो जीत सुनिश्चित भएको उम्मेदवार बानियाले दावी गरे । उनले गत निर्वाचनको भन्दा यसपटक अझ बढी मत ल्याउने दावी समेत गरे । उता लोकतान्त्रिक –बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राजवंशीले यसपटक आफ्नो लागि जित्ने माहोल बनेको दावी गरेका छन् । ‘माहोल राम्रै बन्दै गएको छ ’उनले भने,‘गत निर्वाचनको भन्दा स्थिति सुध्रिएको छ , निर्वाचन जित्छु ।’
कचनकवलमा बानियाभन्दा राजवंशी बलियो भएपनि भद्रपुरमा बानिया बलियो देखिन्छन् । झापाको क्षेत्र नं. ३ (१) भित्र कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६ र ८ पर्छ । यहाँको कुल मतदाता संख्या ५८ हजार ८ सय १७ रहेको छ । गत स्थानीय तहको निर्वाचनमा कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकामा कांग्रेसले जितेको छ । यसअघिको स्थानीय तहमा कचनकवल गाउँपालिकामा राप्रपाले र भद्रपुर नगरपालिकामा एमालेले जितेको थियो । गठबन्धनको बलमा कांग्रेसको स्थितिमा केही सुधार देखिन्छ । तर, कचनकवल जित्नुका पछाडि एमाले समेतको भोट जोडिएको छ । स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई हराउन सत्ता गठबन्धनसँग एमाले समेत मिलेको थियो । यसपटक एमाले प्रतिष्पर्धी बनेको छ ।