झापा, कात्तिक १० । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसी ‘नो नट अगेन’ अभियानको पक्षमा उभिएका छन्।

डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको निर्णयको विपक्षमा उभिएका हुन्। उनले राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको आरोप लगाएका छन्।

‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नका लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई फौजदारी कानूनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौं । वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ,’ डा. केसीले भनेका छन्।

उनले आयोग आमनागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत रहेको र आत्मालोचनासहित विज्ञप्ति तत्काल फिर्ता लिन आग्रह गरेका छन्। डा. केसीले निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रूपमा अवज्ञा हुने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्