भद्रपुर, कात्तिक १३ । प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजास्थलको पहिचान बनाएको भद्रपुरस्थित मेची नदीमा भव्य रूपमा छठ पूजा गरिएको छ ।

छठ पूजा तराईबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बंगालीलगायत सम्पूर्ण जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिएकोे हो ।

नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुरस्थित मेची नदीमा
मनाउँदै आएको छठ पर्वमा ५ हजार बढी पूजास्थल निर्माण गरी नदीको वारिपारी दुवैपट्टिबाट हिमाल, पहाड र तराईका बासिन्दाले सहभागी भएर साझा पर्व मनाएका छन् ।
दशकौंदेखिको पूजास्थलको पहिचान बनाएको मेची घाटमा पूजास्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्ती गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र चौथो दिन विहान उदाउदो सूर्यलाई अर्घ्य चढाएपछि सम्पन्न हुन्छ । यो पर्वमा जनसहभागिताको हिसाबले नेपालको जनकपुरपछि दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजको दावी रहेको छ ।

नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पर्वको छुट्टै विशेषता रहने गरेको छ । यसको व्यवस्थापनका लागि भद्रपुर नगरपालिका संरक्षक तथा मैथिल समाजलगायत विभिन्न सामाजिक संघसंस्था, उद्योग, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलहरू सहयोगी र दाता निकायको रूपमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्