बेलबारी,कात्तिक १५ ।झापा धुलाबारीको रोलिङ क्लब पाँचौं संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

फोटो क्याप्सनः बलका लागि संघर्ष गर्दै झापा (निलो जर्सी) र विराटनगरका खेलाडी

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा मंगलबार भएको उद्घाटन खेलमा विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । झापाको जितमा रेजिन सुब्बा नायक बने । उनको निर्णायक गोलको मद्धतले झापाको क्वाटर फाइनल यात्रा तय भएको हो । प्रतिस्पर्धात्मक खेलको ५१ औँ मिनेटमा डिबक्सभित्र प्राप्त बललाई उनले वान टच जाली चुमाएका हुन् । रेजिनको गोलसँगै दबाबमा परेको विराटनगर जवाफी गोल फर्काउन नसक्दा निराश बनेर पहिलो खेलबाटै बाहिरियो । मध्यान्तरपछि आक्रामक प्रदर्शन गरे पनि विपक्षी बार भत्काउन नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा झापाले पनि नतिजा आफ्नो पक्षमा पार्न मध्यान्तरपछिको समय पर्खनु पर्यो ।
राष्ट्रिय खेलाडीले भरिपूर्ण दुवै टिमको फिनिसिङ पक्ष भने कमजोर रहयो । बारम्बारका अवसरमा झापा र विराटनगरका खेलाडी चुकेका थिए । अवसर खेर जाँदा विराटनगर खेलबाट बाहिरियो । झापाले फराकिलो अन्तरको जित निकाल्न सकेन ।

खेलको ५ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीको फ्रिकिक प्रहारलाई झापाका गोलरक्षक दीप कार्कीले विफल पारिदिए । २२ औँ मिनेटमा उनकै प्रहार पोस्ट माथिबाट बाहिरियो । ४६ औँ मिनेटमा सुदील राई वान भर्सेस वानको अवस्थामा चुके । ७१ औँ मिनेटमा सुदीलकै प्रहार बाहिरिँदा विराटनगरको क्वाटर फाइनल प्रवेश गर्ने योजना असफल बन्यो । खेलमा झापाले पनि थुप्रै अवसर गुमाउँदा फराकिलो अन्तरको जित निक्लन सकेन । ७ औँ मिनेटमा सुजल श्रेष्ठको प्रहारमा विराटनगरका गोलरक्षक विवश चौधरी बाधक बनिदिए । २७ औँ मिनेटमा झापाका एन्जल गुरुङको प्रहारले पनि पोस्टको बाटो देखेन । ३८ औँ मिनेटमा संजोग राईले अवसर गुमाउँदा झापाले जितका लागि मध्यान्तरपछिको समय कुर्नु पर्यो ।

खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्कीले नगद ५ हजार रूपैयाँ प्राप्त गरे । प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका थिए ।बुधवार भारतको एमएम एफ सी वेष्ट बंगाल र सिरहाको सहलेस युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुने छ । गोल्डकपका प्रवक्ता नरेन्द्र बस्नेतका अनुसार प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् । विराटनगर र झापाबाहेक प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, सहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी रहेको उनले बताए । प्रतियोगिताको चौथो संस्करणको उपाधि भने सशस्त्र प्रहरी बलले जितेको थियो ।

डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने बताए । गोल्डकपको पुरस्कार राशि यसवर्षदेखि बढाइएको हो । यसअघिका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाएका थिए ।
राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्