झापा, कात्तिक १६ । माओवादी पार्टीको खासै जनमत नभएर नेपाली कांग्रेसको मतले निर्वाचन जित्ने भर परेका झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि रानाले सोचेजस्तो सहयोग नपाउने देखिएको छ ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक कांग्रेसभित्रको अन्तरविरोधसंगै कांग्रेसले टिकट नपाउँदाको असन्तुष्टिका कारण माओवादीका उम्मेदवार रानाले अपेक्षा गरेको सहयोग नपाउने भएका हुन् । चुनावी घरदैलोमा कांग्रेसका नेता कार्यकर्ताहरु त्यति खुलेर लागेका छैनन् । जसबाट रानाले चुनाव जित्ने माहोल देखिएको छैन ।

माओवादीका उम्मेदवार रानाले टिकट पाएपछि असन्तुष्ट बनेका कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी निर्वाचनमा भाग नलिने मनसायले अष्ट्रेलिया गइसकेका छन् । उनी अष्ट्रेलिया गएको करिव १० दिन भयो । आफ्नो र आफ्नी श्रीमतीको स्वास्थ्य जाँच गराउन आफूहरु अष्ट्रेलिया आएको उनले बताए । निर्वाचनमा फर्किने वा नफर्किने विषयमा पूर्वमन्त्री समेत रहेका बुढाथोकीले उपचार पूरा गरेर मात्र आफूहरु फर्किने जानकारी दिए । कांग्रेसको जिल्ला समितिलाई खबर नै नगरी बुढाथोकी अष्ट्रेलिया गएको बताइएको छ । उनी झापा क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट टिकटको प्रवल दावेदार रहेका थिए । टिकट पाउने कुरामा ढुक्क देखिएका उनले भोट माग्न थालिसकेका थिए । तर, अन्तिम समयमा आएर झापा २ आफ्नो भागवन्डामा पार्न माओवादी सफल बन्यो ।

कांग्रेसका तर्फबाट बुढाथोकीसंगै सरिता प्रसाई , सुधिरकुमार शिवाकोटी , छत्रबहादुर गिरी र जलकुमार गुरुङ आकांक्षी रहेका थिए । तीमध्ये रानाको उम्मेदवारीप्रति केहीले मात्र चित्त बुझाएका छन् । आफू पनि गठबन्धनको चुनावी कार्यक्रममा हिडिरहेको टिकटका आकांक्षी रहेका कांग्रेसमा महाधिवेशन प्रतिनिधि छत्रबहादुर गिरीले बताए ।‘हरिजीलाई बोकेर हिडिरहेका छौं ’उनले भने,‘यसपाली जनताको मन अर्कै छ ।’

करिव ६ महिनाअघिको स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा झापा क्षेत्र नं २ मा नेकपा एमालेको मत करिव ३६ हजार रहेको थियो । त्यसपछि दोस्रो स्थानमा रहेको कांग्रेसको मत ३४ हजार रहेको थियो । माओवादीले भने करिव ५ हजार मत मात्र पाएको थियो । यस निर्वाचन क्षेत्रमा २५ वटा वडा रहेका छन् । बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर १,२ र ३, अर्जुनधारा नगरपालिकाको ११ वटै वडा, बिर्तामोडको १ देखि ९ नम्बर वडा र कनकाई नगरपालिकाको ८ र ९ नम्बर गरी जम्मा २५ वटा वडा रहेका छन् । २५ वटा वडामध्ये गत स्थानीय तहको निर्वाचनमा एमालेले १३ , कांग्रेसले ११ र राप्रपाले एउटा वडामा विजय हासिल गर्दा माओवादीले कुनै पनि वडा जित्न सकेको थिएन ।

झापा २ मा एमालेसंग कम्पिटीसन मत रहेको कांग्रेसले सामान्य जनमत रहेको माओवादीलाई बोकेर हिड्न नमिल्ने भनेर कांग्रेस कार्यकर्तामा असन्तुष्टि देखिएको हो । त्यही असन्तुष्टिकै कारण कांग्रेसका कुमार भट्टराईले गठबन्धनका उम्मेदवार रानाविरुद्ध वागी उम्मेदवारी दिएका थिए । भट्टराईलाई कांग्रेसले कार्वाही गरिसकेको छ । उनी स्वतन्त्र भएर चुनाव लड्दैछन् । कांग्रेसले टिकट नपाउँदाको अबस्थामा कांग्रेस कार्यकर्ताहरुको सहानुभूति स्वतन्त्र उम्मेदवार भट्टराई र वीपी कांग्रेसका उम्मेदवारप्रति रहनसक्ने एक नेताले बताए । झापा २ मा वीपी कांग्रेसका तर्फबाट नारायण भारतीले उम्मेदवारी दिएका छन् ।

रानाको साथमा सिटौला प्यानल
केन्द्रमा सत्तारुढ गठबन्धनमा टिकटको भागवन्डा मिलाउन कांग्रेसको तर्फबाट गगन थापा , ज्ञानेन्द्र कार्की र कृष्णप्रसाद सिटौलाले जिम्मेवारी पाएका थिए । सिटौलाको सहमतिमा झापा २ माओवादीले पाएको बताइन्छ । झापा ३ मा आफ्नो लागि टिकट सुरक्षित गरेर माओवादीको भोट पाउनका लागि सिटौलाले झापा २ माओवादीलाई दिएको फरक प्यानलका कांग्रेसका एक नेताले बताए । झापा २ मा कांग्रेस र एमाले प्रतिष्पर्धामा रहेका बेला ५ हजार मत हुने माओवादीलाई टिकट दिने सिटौला को हुन् ? भन्ने प्रश्न गर्दै उनले आफू कताबाट छिर्ने भनेर सिटौलाले आफ्नो स्वार्थ मात्र हेरेको आरोप लगाए । निर्वाचनमा आफ्नो घर भएको वडा भद्रपुर १० मा जित्न नसकेपछि विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र १ मा खन्याइदिने र पार्टीको पकड भएको बिर्तामोड १० लाई क्षेत्र नं ३ मा गाभ्नेजस्ता काम गरेर सिटौलाले आफ्नो मात्र स्वार्थ पूरा गर्न खोजेको उनको भनाई छ ।

झापा क्षेत्र नं २ मा पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा सिटौलाले नै सुधिरकुमार शिवाकोटी , छत्रबहादुर गिरी र जलकुमार गुरुङलाई उठाएको बताइन्छ । आकांक्षी शिवाकोटी अहिले गठबन्धनका उम्मेदवार जिताउन निर्वाचन मूल परिचालन समितिका संयोजक छन् । रानालाई निर्वाचनमा जिताउन सके शिवाकोटी सिटौला प्यानलका तर्फबाट केन्द्रीय सदस्यमा मनोनित हुने संभावना रहेको पार्टी स्रोतले जनाएको छ । कांग्रेसभित्र स्थानीय तहको निर्वाचनमा देखिएको अन्तरविरोध यस निर्वाचनमा पनि कायम छ । माओवादीका रानालाई जिताउन कांग्रेसको सिटौला प्यानल लागेको देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्