मेचीनगर, कात्तिक १६ । जन्मदिनमा फजुल खर्च कटाएर झापा मेचीनगर–१२ का राजन चिमरियाले २ जना पत्रकारसहित २२ जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गरेका छन् ।

सुखानीस्थित सहिद पार्कमा बुधबार आयोजित कार्यक्रममा चिमरियाले सहिद तथा बेपत्ता परिवारका सदस्य र दुई पत्रकारलाई सम्मान गरेका हुन् ।
कात्तिक १६ गते आफ्नो जन्मदिन पारेर डेरी व्यवसाय संचालन गर्दै आएका चिमरियाले पत्रकारद्वय जिएन शर्मालाई नगद १५ हजारसहित सम्मान गरेका छन् भने अर्का पत्रकार प्रकाश उप्रेती र २० जना सहिद तथा बेपत्ता परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका थिए ।

उनले सहिदहरु बिरेन राजवंशी, नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइकेल, नारायण श्रेष्ठ, राजन ढुंगानालगायतको परिवारका सदस्यलाई मायाको चिनोसहित सम्मान गरेका थिए् ।
सहिद, वेपत्ता परिवार र घाइतेलाई कुनै पनि ठाउँबाट उपयुक्त किसिमको राहत एवम् जिविकोपार्जनको स्रोतको व्यवस्थापन नभएको भन्दै युवा राजनीतिकर्मी चिमरियाले भने,–‘मैले जन्मदिनमा मात्रै होइन, अन्य समयमा पनि सहयोग गर्दै आएको छु । त्यसैले मेरो जन्मदिनको अवसरमा यति काम गरेको छु ।’

चिमरियाले सहिद तथा बेपत्ता परिवारमध्ये विपन्न परिवारलाई ८० हजार मूल्य पर्ने बाछीसहितको होलिस्टेन जातको गाई दान गर्ने घोषणा समेत गरेका छ्न् ।
ज्ञानेन्द्र घिमिरेले संचालन गरेको कार्यक्रममा पुष्पा गुरागाईले शुभकामना मन्तव्य राखेकी थिइन् भने सहिद नेत्र घिमिरेको परिवारका सदस्य मेनुका घिमिरेले सहिद गीत प्रस्तुत गरेकी थिइन् । चिमरियाले सहिदका परिवारसहित सहभागी ९० जनालाई सुखानी पार्क र चेप्टि फन पार्क अवलोकन गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्