झापा, कात्तिक १८ । झापाका चार पालिकाले आज शुक्रबार स्थानीय बिदा दिएका छन् ।

आदिवासी राजवंशी तथा अन्य बहुसंख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले आज स्थानीय बिदा दिएका हुन् ।
चारवटै पालिकाले हिजो सूचना प्रकाशन गरी बिदाको बारेमा जानकारी गराएका थिए । बिदामा पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको भन्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्