झापा , कात्तिक १८ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ।

आजबाट देशभरका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका वडाका घरदैलोमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने निर्वाचन आयोगले जनाएको छ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ । निर्वाचन आयोगका अनुसार देशका ७७ वटै जिल्लाका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिनेछ । यसका लागि आयोगले प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षा कार्यकर्ता तोकेर खटाउँदै छ । केही वडामा एक स्वास्थ्य स्वयंसेविकाले अपुग भए थप एक परिचालन गर्ने तयारी छ । मतदाता शिक्षा कार्यक्रमका लागि त्यसरी खटिने स्वास्थ्य स्वयंसेविकालाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउनेछ । मतदाता शिक्षाका लागि हुने घरदैलोमा मतदान गर्ने तरिकासहित निर्वाचनका लागि जानकारीमूलक सामग्रीहरू वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्