झापा, कात्तिक १९ । मंसिर ४ को निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र झापा क्षेत्र नं २ नेपाली कांग्रेसले पाउने चर्चा अगाडिदेखि नै चलेको थियो । तर, कांग्रेसको दावी उल्ट्याउँदै माओवादीले आफ्नो भागवन्डामा पार्यो ।

पूर्व सांसद तथा माओवादीकी पोलिटव्युरो सदस्य धर्मशीला चापागाई आफ्नो लागि झापा २ माओवादीको भागमा पार्न सफल भएपनि उनले टिकट नेकपा एमालेका प्रदेश कमिटी सदस्य हरि रानालाई जिम्मा लगाइन् । अर्जुनधारा नगरपालिकाका पूर्व जनप्रतिनिधिसमेत रहेका एमालेका नेता रानाले टिकटकै लागि रातारात पार्टी छोडे ।

रानाले रातारात पार्टी छोडेको घटना अप्रत्यासित र उदेकलाग्दो रहेको कांग्रेसका एक नेताले बताए । रातारात एमाले पार्टी छोडेर एक्लै आएका रानालाई टिकटको लागि माओवादीमा ल्याइनुमा पाँचजनाको मुख्य हात रहेको ती कांग्रेसका नेताले जानकारी दिए । उनका अनुसार माओवादीका इन्द्र आङबो मौसम ,धर्मशीला चापागाई , झलकसिंह दर्लामी मगर सन्देश ,कांग्रेसका उद्धव थापा र सुधिरकुमार शिवाकोटीको पहलमा राना एमाले छोडेर माओवादीमा आएका हुन् । टिकट पाएपनि चुनाव नजित्ने देखेपछि माओवादी नेतृ चापागाईले रानालाई टिकट सुम्पेकी हुन् । रानालाई उम्मेदवार बनाउनुअघि उनले राम कार्की पार्थलाई प्रस्ताव गरेकी थिइन् । तर, कार्कीले चुनाव जित्न गाह्रो पर्ने देखेर अस्वीकार गरेपछि चापागाईलगायतले रानालाई उम्मेदवार खडा गर्ने निर्णय गरेको ती नेताले खुलासा गरे । त्यसपछि चापागाईसहित राति २ बजे रानाको घरमा पुगेका थिए । रानाको घर पुग्नुअघि चापागाईले माओवादी हेडक्वाटरमा आफू नउठ्ने जानकारी गराइसकेकी थिइन् ।

उनीहरुले उम्मेदवार बन्न प्रस्ताव गरिरहँदा रानाले शुरुमै हिम्मत गरेनन् । ती नेताका अनुसार रानालाई विश्वस्त गराउन उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोन गर्न लगाए । दाहालले आफूबाट राजनीतिक प्रोटेक्सन हुने आश्वासन दिए । त्यतिले नपुगेपछि उनीहरुले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई फोन गर्न लगाए । सिटौलाले पनि त्यसरी नै आश्वासन दिए । त्यही आश्वासन कांग्रेसका प्रदेश सभापति उद्धव थापा समेतबाट पाएपछि राना उम्मेदवार बन्न राजी भएको ती नेताको भनाई छ । उनका अनुसार सिटौलाले कांग्रेसले बेइमान नगर्ने र थापाले आफै जिताउन लाग्ने भरोसा रानालाई दिएका छन् ।

त्यही प्रतिवद्धता पूरा गर्न कांग्रेसका नेताहरु लागिपरेका छन् । झापा क्षेत्र नं २ का विभिन्न वडामा पुगेर अध्ययन गर्दा नजितिने देखेपछि चापागाईले छोडेको बताइएको छ । त्यसअघि टिकटका आकांक्षी कांग्रेसका केशवकुमार बुढाथोकीले झापा क्षेत्र नं २ मा आफ्नो लागि माहोल बनाइसकेका थिए । तर, अन्तिममा उनले टिकट पाएनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्