झापा, कात्तिक २० । भुक्तानी रोकेको करिब डेढ वर्षपछि बिमा कम्पनीहरूले कोरोना बिमाको भुक्तानी सुरु गर्ने भएका छन्  ।

सरकारबाट १ अर्ब र बाँकी सरोकारवालाबाट करिब ८१ करोड ८४ लाख रुपैयाँ संकलन भएपछि कम्पनीहरूले यही सातादेखि भुक्तानी सुरु गर्न लागेका हुन् ।
सरकारले पैसा नदिएको भन्दै बिमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बिमाको भुक्तानी रोकेका थिए । ‘ढिलोमा सोमबार–मंगलबारदेखि नै भुक्तानी सुरु गर्न कम्पनीहरूलाई भनेका छौं,’ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘पुनर्बिमालगायत केही कम्पनीको पैसा आउन बाँकी छ भन्ने जानकारी आएको छ । सबै निकायबाट पैसा आएपछि कम्पनीहरूले भुक्तानी सुरु गर्छन्।’

रकम भुक्तानीका लागि बिमा समितिले सरकारबाट आएको एक अर्ब रुपैयाँ र आफूले दायित्व बहन गर्नुपर्ने ८ प्रतिशत बराबर रकम शुक्रबार नै बिमक संघको बैंक खातामा स्थानान्तरण (पठाइएको) गरिसकेको पनि पौडेलले जानकारी दिए । यसअघि बिमा समितिले सरकारलाई दिएको दोस्रो विकल्पका आधारमा अहिले रकम भुक्तानी गर्न लागिएको हो । उक्त विकल्पमा भुक्तानी गर्न बाँकी कुल रकममध्ये ५५ प्रतिशत दायित्व सरकार र बाँकी ४५ प्रतिशत बिमा समिति, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले बहन गर्ने भनिएको छ । सोही विकल्पका आधारमा सरकारले दिएको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर बाँकी ४५ प्रतिशत रकम बिमा समिति, पुनर्बिमा कम्पनी र बिमा कम्पनीहरूले संकलन गर्ने सहमति भएको छ, जसअनुसार पुनर्बिमा कम्पनीले १२, बिमा कम्पनीहरूले २५ र बिमा समितिले ८ प्रतिशतका दरले रकम संकलन गर्दै छन् ।

यसरी पुनर्बिमा कम्पनी, बिमा कम्पनी र बिमा समितिले गरेर ८१ करोड ८४ लाख ८१ हजार ८ सय ८४ रुपैयाँ रकम संकलन हुनेछ । अहिले पहिलो चरणमा सरकारबाट आएको १ अर्ब र सरोकारवालाले संकलन गरेको करिब ८२ करोड रुपैयाँ भुक्तानी गर्न लागिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्