झापा, कात्तिक २० । सरकारी स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान भद्रपुरको लापरवाही र हेलचेक्र्याइँविरुद्ध स्थानीय उपभोक्ता संघर्षमा उत्रिएका छन्।

खानेपानी संस्थानद्वारा उपभोक्ताहरूलाई फोहोर, धमिलो र लेदो मिसावट जस्तो पानी वितरण गर्दै आएको बेथिति नरोकिएपछि पीडित बनेका स्थानीय उपभोक्ता स्वतःस्फूर्त संघर्षमा उत्रिएका हुन्।

संघर्षमा उत्रिएका उपभोक्ताहरूले पहिलो चरणको शान्तिपूर्ण आन्दोलनको कार्यक्रम अनुसार आइतबार बिहान ११ बजे खानेपानी संस्थानको कार्यालय घेराउ गर्दै धर्ना दिएका थिए। उनीहरूले कार्यालयको मूल ढोकासमेत पाँच मिनेट बन्द गरेका थिए।
‘खानेपानी संस्थानमा सुशासन कायम गर, उपभोक्तालाई शुद्ध खानेपानी देऊ, खानेपानी संस्थानलाई उपभोक्ता मातहत ल्याऊ, शुद्ध खानेपानी हाम्रो अधिकार, जनस्वास्थ्यमाथि खेलबाड बन्द गर’ जस्ता नारासहितको प्लेकार्ड हातमा बोकेर धर्नामा बसेको स्थानीय उपभोक्ता रमेश न्यौपानेले जानकारी दिए।संस्थानले पटकैपिच्छे नगरमा दूषित पानी वितरण गरेको भन्दै आक्रोशित बनेका उपभोक्ता गत भदौमा संस्थानका प्रमुख रामकुमार श्रेष्ठलाई भेटेर समस्याहरू राखेका थिए।

त्यसपछि दुवै पक्षबीच ७ बुँदे प्रतिबद्धतासहितको लिखित सहमति गरिएको थियो। सहमतिमा अब उपरान्त खानेपानीमा कुनै किसिमको हेलचेक्र्याइँ हुन नदिने, पाइप लाइनमा कुनै समस्याहरू आए वा ट्यांकी अथवा पाइप सरसफाई गर्नुपरे तुरुन्तै उपभोक्तालाई जानकारीमूलक सूचना प्रवाह गर्ने, १० दिनभित्रमा पानीको ल्याब टेस्ट गरी विराटनगर पठाई पानीको शुद्धता मापन गरी उपभोक्तालाई जानकारी गराउने सहमति भएको थियो।

नगरभित्रका केही स्थानहरूमा सार्वजनिक धाराहरू जडान गर्ने, संस्थानको क्षेत्र अधिकारभित्र पर्ने सबैतिर खानेपानी पु¥याउने, नियमित कर्मचारीहरूले उपभोक्ताहरूसँग सूचना लिने र नमुना परीक्षण गर्ने र धेरै पुराना पाइपहरू भएको ठाउँमा नयाँ पाइप जडान गरिने उल्लेख छ। तर, सहमतिबमोजिम संस्थानले उपभोक्ताहरूको स्वास्थ्यमाथि खेलबाड बन्द नगरेपछि उपभोक्ताहरू संघर्षमा उत्रिनु परेको स्थानीय राजेश गुप्ताले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्