झापा, कात्तिक २१ । झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार कुमार भट्टराईले मंसिर ४ को निर्वाचनमा आफू २५ हजारभन्दा बढी मत ल्याएर निर्वाचित हुने दावी गरेका छन् ।

ट्युवेल चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार भट्टराईले झापा क्षेत्र नं २ मा आफ्नो बलियो उपस्थिति रहने दावी गरेका हुन् । उनले आफूलाई सबैतिरबाट भोट आउने बताए ।

‘मलाई सबैतिरबाट भोट आउँछ’ सोमवार पत्रकार सम्मेलन गर्दै उनले भने,‘ कांग्रेस , एमाले , राप्रपा , माओवादी , आदिवासी ,मधेसी , उद्योगी , व्यवसायी ,बुद्धिजीवि , संचारकर्मी , कलाकारलगायत सबैले मलाई सहयोग गर्छन् ।’ यसअघि भट्टराई नेपाली कांग्रेसमा सक्रिय रुपमा आवद्ध रहेका थिए । कांग्रेसले सत्तारुढ गठबन्धनभित्रको माओवादीलाई झापा २ दिएपछि असन्तुष्ट हुँदै उनले बागी उम्मेदवारी दिएका हुन् । उनलाई पार्टीले निष्कासनको कार्वाही गरिसकेको छ । झापा क्षेत्र नं २(१) मा करिव २२ हजार मत भएको कांग्रेसले २४० मत भएको एकीकृत समाजवादीको कलम चिन्हमा भोट हाल्नुपर्ने निर्णयलाई कांग्रेस कार्यकर्ताहरुले मान्न नसकेर आफूले उम्मेदवारी दिनुपरेको उनले बताए । सिके प्रसाईको चिन्तनलाई आत्मसात् गरी कार्यकर्ताहरुको भावना बुझेर नेपाली कांग्रेसको वर्चस्व जोगाउन आफ्नो उम्मेदवारी भएको भट्टराईको भनाई थियो ।

पत्रकार सम्मेलनमार्फत् उम्मेदवार भट्टराईले १६ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । पद र शक्तिको दुरुपयोग नगर्ने ,विधिको शासनभन्दा बाहिर गएर कुनै पनि निकाय र कर्मचारीलाई दवाव नदिने ,महत्वपूर्ण मुद्दामा संवाद र छलफल गरी स्पष्ट दृष्टिकोण राख्ने , कुनै पनि मुद्दामा दोहोरो चरित्र प्रदर्शन नगर्ने ,सरकारलाई पारदर्शी र जनताप्रति उत्तरदायी बनाउन सँधै खबरदारी गर्ने, लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहने , राष्ट्रिय स्वाधीनता, देशको अखण्डता र राष्ट्रिय सुरक्षाको विषयमा अविचलित भई उभिने , नैतिकतामा प्रश्न उठे राजीनामा दिने र छानबिनका लागि सहयोग गर्ने ,भूमिहीन किसान, पिछडिएको वर्ग र समुदायको हितलाई प्राथमिकतामा राख्ने ,सन्तुलित विकासको पक्षमा उभिने , निःशुल्क स्वास्थ्य र शिक्षा दिनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न प्रयत्न गर्ने ,आयात प्रतिस्थापन गर्ने विधिका पक्षमा बोल्ने ,व्यापार घाटा घटाउन सहयोग गर्ने ,रोजगारीका अवसर सिर्जना गर्ने प्रयत्न गर्नेलगायतका प्रतिवद्धता उनले जनाएका हुन् ।

‘ म जनताका लागि भएको , हिजो पनि जनताको बीचमा थिएँ, आज पनि जनताको सेवामा छु, भोलि पनि जनसेवामा सक्रिय हुनु मेरो कर्तव्य हुनेछ’ उनले प्रतिवद्धतामा भनेका छन् ‘ मतदाताको बलियो विश्वासको जगमा उभिएर भन्छु, राष्ट्र र राष्ट्रियताप्रति मेरो इमान्दारिता सँधै जाँच होस् ।’

विद्यार्थी कालदेखि उनले राजनीति शुरु गरेका थिए । उनी लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेका थिए । राप्रपाको मेची अंचल अध्यक्षको जिम्मवारीमा पाएका उनी राप्रपा छोडेर विगत एक दशकदेखि कांग्रेसमा थिए । अहिले स्वतन्त्र भएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भट्टराई नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का प्रवक्ता हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्