भद्रपुर, कात्तिक २१ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले संविधानको मूल एजेन्डाविपरीत काम गर्नेलाई जनताले मत नदिने बताएका छन् ।

भद्रपुरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सिटौलाले भने, ‘जनताको मतले जितेर संसदमा पुग्ने र त्यही संसद्लाई भत्काउन खोज्नेलाई जनताले भोट दिन्छन् र ? ’ यस पटकको निर्वाचनमा संविधानको मर्म र भावना बुझ्नेलाई जनताले मतदान गर्ने सिटौलाको दाबी छ ।
राजावादी विचार भएका उम्मेदवारलाई जनताले कदापि नस्वीकार्ने बताउँदै सिटौलाले भने, ‘देशबाट यो सामन्ती राजतन्त्र ढलेर गईसक्यो, अब फेरि कहाँबाट ब्युँझन्छ , कसैले कल्पना गर्न सक्ने विषय नै होइन ।’ झापा ३ मा हिमानी ट्रस्टको कार्यक्रम देखिरहेको बताउँदै उनले भने, ‘त्यसको पनि केही असर छ यस निर्वाचन क्षेत्रमा ।’
यस क्षेत्रमा विकास निर्माणको दृष्टिकोणले राप्रपालाई जनताले पाँच वर्ष मूल्याङ्कन गरिसकेकोले विकास र जनताको समस्याका लागि आफ्नो पक्षमा मत खस्ने सिटौलाले दावी गरे । उनले भने, ‘२०७४ सालको निर्वाचनमा काँग्रेस यस क्षेत्रमा हारेपनि यहाँका जनताको समस्यामा काँग्रेसले नै सहयोग गरेको छ । राप्रपाले कुनै पनि समस्यामा जनतालाई साथ दिएको छैन ।’ यस क्षेत्रमा विकास चाहने जनताले आफूलाई नै जिताउने उनको दावी छ ।