झापा, कात्तिक २३ । झापा गाउँपालिका वडा नं ५ पन्थापडामा भएको आगलागीबाट ६० लाखभन्दा बढीको क्षति भएको छ ।

बुधवार साँझ ६.४० बजे पन्थापडाका काशीलाल राजवंशीको घरमा आगलागी भएको हो । आगलागीबाट राजवंशीको दुईतले काठको घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीय वडाका वडाध्यक्ष कृष्ण राजवंशीले बताए । विद्युत सर्ट भएर सो आगलागी भएको जनाइएको छ ।
आगलागीबाट राजवंशीको काठको दुईतले घर , घरभित्र रहेको साढे ७ लाख नगद , १२ तोला सुन , ९० तोला चाँदी ,खाद्यान्न , फर्निचर ,लत्ताकपडालगायतका धनमाल जलेर नष्ट भएको वडाध्यक्ष कृष्ण राजवंशीले जानकारी दिए । त्यस घरमा काशीलाल , उनका छोराहरु श्याम र भुपेन्द्र राजवंशीको परिवार बस्ने गरेका थिए । आगलागीबाट मूल घर पुरै जलेर नष्ट भएको र ग्वाली र भान्सा जोगाउन सफल भएको उनले बताए । ठूलो संख्यामा भेला भएका स्थानीयले करिव करिव आगो निभाइसकेको अबस्थामा बिर्तामोड नगरपालिकाको दमकल पुगेको थियो ।
आगलागी भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी शरणामतीबाट प्रहरी टोली खटिगई स्थानीयबासी, प्रहरी र बिर्तामोडबाट गएको दमकलको सहयोगमा राति ८ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।