पथरीशनिश्चरे, कात्तिक २४ । प्रदेश नं १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री स्वर्गीय शेखरचन्द्र थापाकी श्रीमतीलाई टिकट दिनुपर्ने मागसहित पथरीशनिश्चरेका काँग्रेस नेता कार्यकर्ताहरुले निर्वाचन कार्यालयअगाडि नाराबाजी गरेका छन् ।

बिहीबार दिउँसो गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय बेलबारी पुग्नासाथ थापाकी पत्नीलाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै काँग्रेसका नेता कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालयमा नाराजुलुस गरेका हुन् । उनीहरुले शोकको यस्तो अबस्थामा पार्टीका नेता कार्यकर्ता सहानुभूतिका लागि थापाको घरमा पुग्नुपर्ने र सल्लाह गर्नुपर्ने आबश्यक भएपनि उनीहरुले एकपटक समेत थापाका परिवारलाई नसोधी उम्मेदवार खडा गरेको भन्दै बिरोध जनाएका थिए ।
नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यको टिकट लिम्बूलाई दिएको छ । बेलबारी– ८ का लिम्बूले पार्टीले टिकट दिएपछि बिहिबार दिउँसो १ बजे निर्वाचन कार्यालय बेलबारी पुगेर मनोनयन दर्ता गराएका छन् ।