झापा, कात्तिक २४। जलथल जंगल क्षेत्रभित्र पर्ने चारवटा स्थानीय तहहरुले उल्टाकाँडा हटाउने अभियान शुरु गरेका छन् ।

उल्टाकाँडा (मिचाहा प्रजाति ) हटाउने र जनचेतना फैलाउने अभियान भद्रपुर नगरपालिका, हल्दिबारी, कचनकवल र बाह्रदशी गाउँपालिकाले शुरु गरेका हुन् । वनक्षेत्र तथा गाउँघर वरिपरि फैलिरहेको उल्टाकाँडा हटाउने र जनचेतना फैलाउने अभियान कात्तिक २० गतेबाट चलिरहेको छ । फरेष्ट एक्सन नेपालको अगुवाईमा जनप्रतिनिधि , प्रहरी प्रशासन, संचारकर्मी, टोल विकास संस्थाका प्रतिनिधि ,विद्यार्थी, सामुदायिक वन उपभोक्ता समूहलगायतको सहभागितामा यो अभियान कात्तिक २५ गतेसम्म चल्ने र त्यसपछि पनि यसलाई निरन्तरता दिइने फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा लिलानाथ शर्माले बताएका छन् ।
यसैक्रममा हल्दिबारी ३,४ र ५ मा उल्टाकाँडा फैलिएको भिन्न भिन्न ठाउँमा वडा नं ३ का वडाध्यक्ष विष्णुप्रसाद ओली , ४ का वडाध्यक्ष सन्तकुमार थापा,५ का वडाध्यक्ष खड्क लावती, वडा सदस्य सुरेन्द्र बाराकोटी , कर्णबहादुर भण्डारी , बिजय फागो, जीवन कन्दङवा, सुष्मा महरा, ४ नं का वडा सचिव जयप्रसाद पोखे्रल, ५ नं का वडा सचिव भजन संग्रौला , जलथल प्रहरी चौकी , टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागितामा यो झार हटाउने काम गरिएको थियो । वडाध्यक्ष थापाले यसको जटिलताका बारेमा बुझेको र नियन्त्रणका लागि वडा कार्यालय र जनप्रतिनिधिहरु सहकार्य गर्न तयार रहेको बताएका थिए । यसैगरी भद्रपुर , बाह्रदशीमा पनि जनप्रतिनिधिसहित स्थानीयको संलग्नतामा यो अभियान अघि बढिरहेको फरेष्ट एक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराईले जानकारी दिएकी छन् ।
जंगलभन्दा बाहिर घरगाउँ वरिपरि नै फैलिएको यो घातक काँडाको बारेमा जनचेतना फैलाउने उद्देश्यले सर्वसाधारणको सहभागितामा यो अभियान चलाइएको हो । झट्ट हेर्दा लज्जावती जस्तो देखिने यो घाँसलाई चौपायाले मज्जाले खाने गर्छन् तर यो खाएपछि चौपाया मरेका घटना हाम्रै वरिपरि पाउन सकिन्छ । घोप्टो परेको काँडा भएका कारण यसलाई घोप्टेकाँडा पनि भनिन्छ ।
के हो त उल्टाकाँडा झार ?
उल्टाकाँडा झार एक वहुवर्षीय मिचाहा प्रजाति हो । यो उष्ण प्रदेशीय क्षेत्र( विशेषगरी मध्य र दक्षिण अमेरिका )र क्यारोवियन क्षेत्रको रैथाने वनस्पति हो । उल्टाकाँडा झार लगभग २ वर्षअघि मात्र नेपालमा पहिचान भएको नयाँ मिचाहा प्रजाति हो । यो नेपालको पूर्वी क्षेत्रमा मात्र फैलिएको छ भने पश्चिमी क्षेत्रमा फैलने क्रम जारी छ । नेपालमा कहाँबाट कसरी फैलियो भन्ने कुराको यकिन तथ्याङ्क नभएको वनस्पति विज्ञ डा. लीलानाथ शर्माले बताएका छन् ।
नेपालमा काँडा हुने र नहुने .गरी दुई प्रजातिको उल्टाकाँडा भेटिएको तथ्याङ्क रहेको छ । यसको बोट झ्वाट्ट हेर्दा अरेली काँडाको जस्तो तर पात भने लज्जावतीको जस्तो देखिन्छ । यो लहरा एवम् झाडीको रुपमा तीब्र गतिमा फैलिन्छ । खोलाको किनार ,बगर ,खुल्ला ठाउँ , छत्रघनत्व पातलो भएको जंगल,सडकको छेउछाउ र ग्राभेल भएको बाटोमा बढी मात्रामा देख्न सकिन्छ साथै खेतवारीमा समेत प्रवेश गर्न थालिसकेको स्थिति छ । उल्टाकाँडाले खेतीबाली,वन क्षेत्र बाटोघाटो ,खुल्ला मैदान ,चरनक्षेत्र आदिमा नकारात्मक असर पु¥याउन थालिसकेको छ । यो काँडा फैलिएको क्षेत्रमा मानिस तथा जनावरको आवतजावत त परै जाओस् प्रवेश गर्न समेत नसकिने स्थिति छ । यो वनस्पतिमा मिमोसिन भन्ने विषालु रसायन हुने भएकाले पशु चौपायाको लागि घातक सिद्घ छ । यो वनस्पतिमा पशु लगेर चराउने तथा घाँस काटेर दिनाले झापा र मोरङमा लगभग १ हजारभन्दा बढी पशु चौपाया मरिसकेका छन् । यसको काण्डमा घोप्टो परेको काँडा र मसिनो झुस हुन्छ । जुन मानिसको हात,खुट्टा र शरीरमा बिझेमा चिलाउने , पोल्ने, फोका आउने र घाउ समेत हुने गर्दछ ।
त्यसैले यो उल्टाकाँडा झार कहिँकतै देखिएमा तुरुन्त नियन्त्रणको उपाय गरी जस्तै (उखल्ने ,जलाउने ) मास्ने कार्य गर्नुपर्दछ । यसलाई कहिल्यै पनि नाङ्गो हातले छुने चलाउने गर्नु हुँदैन । पशु चौपायालाई खुवाउने वा चराउने गर्नु हुँदैन । सुरुवाती पहिचानको अवस्थामा त यसको प्रभाव यतिको खतरनाक देखिन्छ भने दीर्घकालमा के होला सबैले बेलैमा सोच्नु पर्ने समय आएको छ । त्यसैले यसको नियन्त्रणको लागि प्रहरी ,प्रशासन, स्थानीय निकाय ,सामुदायिक वन उपभोक्ता समूह ,जनसमुदाय र सरकार समेतले अझै विशेष ध्यान दिनु जरुरी देखिन्छ ।