बिर्तामोड,कात्तिक २४ । जश लिन र बाटोको शिलान्यास गर्न हानाथाप गरेका झापा क्षेत्र नं ३ का उम्मेदवारहरु कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देनलाई सैनिकमोड – गोलधाप सडकले गिज्याइरहेको छ ।

ठेक्का लागेर पनि समयमा निर्माण सम्पन्न नहुँदा त्यस सडक भएर ओहोरदोहोर गर्नेहरुले निकै सास्ती भोगिरहेका छन् । बर्खामा हिलाम्मे सडकबाट दुखले आउजाउ गरेका उनीहरुले अहिले धुलो खाइरहेका छन् ।
बिर्तामोड ३ को सैनिकमोडदेखि बिर्तामोड १० को सैनिकबजार हुँदै हल्दिवारीको गोलधाप जोड्ने त्यस सडकका लागि गत फागुन महिनामा बजेट परेको हो । वर्षौदेखि जीर्ण बनेको त्यस सडकका लागि सडक विभागले बजेट विनियोजन गर्यो । बजेट आफूले ल्याएको भन्दै अहिलेका झापा क्षेत्र नं ३ का उम्मेदवारहरु सिटौला र लिङ्देन दुवैले हानाथाप गरे । लिङ्देनले शिलान्यास गर्न खोज्दा सिटौलाले कडा चेतावनी दिए । कांग्रेसको सरकार भएकाले त्यस सडकको जश लिन सिटौला नै तत्पर देखिए । तर , अहिले सडकको दुर्दशा र सर्वसाधारणले भोगिरहेको सास्तीप्रति दुवै उम्मेदवारहरु बेखबर जस्तै छन् ।

सो सडक गत फागुन १८ गते खनाल शान्ति जेभीले ठेक्का लिएको थियो । सैनिकमोडदेखि साढे ४ किलोमिटर दक्षिणसम्म असार मसान्तसम्म कालोपत्रे पूरा गर्न सो कम्पनीले भ्याटसहित ५ करोड २४ लाख ४१ हजारमा ठेक्का लिएको थियो । तर , असारभित्र काम सकिएन । बर्खामा अलपत्र पारेर छाडिएपछि सर्वसाधारणले मुश्किलले आवतजावत गरे । कतिजना हिलोमा लडे कतिजना खाल्डोको पानीमा डुबे । अहिले हिउँदमा समेत सो बाटोको निर्माण रोकिएको छ । रि–इस्टीमेट गरेर बाटो बनाउनु पर्ने भएकाले म्याद थप गरेर अब केही दिनमा निर्माण कार्य थालिने ठेकेदार कम्पनीका अनिल भट्टराईले बताए । ठुटेबरदेखि दक्षिण सडकमाथिबाट पानी बगेकाले अझै उचो बनाउनुपर्ने , दुईवटा ह्युमपाइप र एउटा स्लाप कल्भर्टको योजना थपिएकाले समय लम्बिएको उनले बताए । बर्खामा पानीका कारण काम गर्न नपाएको र त्यसपछि चाडपर्वले गर्दा काममा ढिलाई भएको उनको भनाई छ । अहिलेसम्म २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
बाटो समयमै निर्माण नगरेर अलपत्र छाडेपछि स्थानीयहरु आक्रोशित देखिएका छन् । सोही बाटो हुँदै दिनहुँ ओहोरदोहोर गर्ने महेन्द्र ज्योति माविका प्रधानाध्यापक देसु वनेमले नेताहरु भोट माग्नै व्यस्त रहेको जनताको मर्का बुझ्ने कोही नभएको गुनासो गरेका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘सैनिकमोडदेखि विराटपोखर,सैनिकबजार हुँदै गोलधाप जाने सडक झापाकै व्यस्त सडकमध्ये एक हो।बर्षौंदेखि यो सडकको अवस्था जस्ताको त्यस्तै छ।बर्षामा हिलो र खाल्डाखुल्डीले हिंडिसक्नु हुँदैन भने हिउँदमा धुलाले कुइरीमन्डल हुन्छ ।गत आर्थिक वर्षमा ८करोडको र चालू आर्थिक वर्षको ९करोड संघीय सरकारबाट बजेट विनियोजन भई ठेक्का समेत लागिसकेको सुन्नमा आएको छ ।तर अहिले ठेकेदारको मुख नदेखेको धेरै भयो ।स्थानीयले सडक पटकपटक अवरुद्ध गर्दा पनि कतैबाट सुनुवाइ भएको देखिएन। अब के उपाय गर्नुपर्ला?सरोकारवाला सबैको घैंटामा घाम लागोस् !’
त्यस्तै विराटपोखर घर भएका महेन्द्र रत्न माविका सहायक प्रधानाध्यापक केशव प्रसाईले उम्मेदवारलाई भोट माग्न सैनिकमोड दक्षिण नझर्न चेतावनी दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘सैनिकमोड सैनिकबजार सडक निर्माण कार्य किन रोकिएको हो र अब यो कहिलेबाट सुचारु हुन्छ भन्ने प्रश्नको उत्तर थाहा नहुने उम्मेदवारले भोट माग्न सैनिकमोड तल नझर्नु, अन्यथा बाटोको धुलोले…………… ।’ स्थानीयवासीहरुले भोट माग्न आउने उम्मेदवारलाई त्यस सडकका बारेमा प्रश्न राख्ने बताएका छन् ।