झापा, कात्तिक २५ । मोरङको बेलबारी नगरपालिका–१ ढुकुरो चोकमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गएराति पौने २ बजे डबलबहादुर खाण ठकुरीको तीन तले पक्की घरमा आगलागी भएको हो । आगलागीमा परेर उनका ३० वर्षका छोरा भुषण ठकुरी र २८ वर्षकी बुहारी नमिता ठकुरी घाइते भएका छन् । उनीहरुको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ । घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँसहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, घरमा रहेको एउटा मोटरसाइकल पनि जलेको छ।

आगो निभाउन विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका पालिकाबाट दमकल गएको थियो । ८, ९ वटा दमकल, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा राति साढे ३ बजेतिर आगो निभाइएको बेलबारी नगरपालिका–१ का वडा अध्यक्ष मणिबहादुर पुलामी मगरले जानकारी दिए । उनका अनुसार विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्