बिर्तामोड, कात्तिक २५। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

सञ्चारमाध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै अध्यक्ष पोखरेलले त्यसको विरोध गरेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभाको शुक्रवार बिर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष पोखरेलले सञ्चारमाध्यमलाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयलाई लिएर जथाभावी रुपमा निर्वाचन आयोगले पत्र काट्दै स्पष्टीकरण सोध्ने गरेको र त्यस्तो काम तत्काल बन्द गरिनु पर्ने बताए । प्रेस काउन्सिलबाहेक राज्यको कुनै पनि निकायले सञ्चार संस्था र सञ्चारकर्मीमाथि समाचार लेखेकै विषयलाई लिएर स्पष्टीकरण सोध्ने अधिकार नभएको अध्यक्ष पोखरेलको भनाई छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ १ नं. प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, केन्द्रीय सदस्य अमर खड्का, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललगायतले शुभकामना मन्तव्य राखेका थिए । महासंघ झापाका शाखाका उपाध्यक्ष केशव भट्टराईले स्वागत गरेको कार्यक्रममा पत्रकार महासंघ झापाको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने फाटो पत्रकार शरद जोशीलाई सम्मान गरिएको थियो ।
यसैबीच महासंघ झापा शाखाले प्रकाशन गरेको चौथो अङ्ग नामक बुलेटिन विमोचन गरिएको थियो । बुलेटिनको विमोचन कार्यक्रमका प्रमुख अतिथि पोखरेल,विशेष अतिथि घिमिरेलगायतले संयुक्त रुपमा गरेका थिए

कार्यक्रममा संस्थाका सचिव डिकेश लामाले सांगठनिक र कोषाध्यक्ष रञ्जित प्रसाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिकेश लामा र सहसचिव राजु पाठकले संयुक्त रुपमा गरेका थिए । सो साधारणसभालाई एमालेनिकट प्रेस चौतारीका पत्रकारहरुले बहिष्कार गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्