झापा , कात्तिक ३० । निर्वाचन नजिकिएको छ । चिसो पनि बढ्दै छ ।

तर यहाँ सम्म घुम्न आएकाहरूलाई न त निर्वाचनले प्रभाव पारेको छ , न चिसो मौसमले नै । कात्तिक पहिलो साता यता तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले खचाखच छ । बसन्तपुरदेखि गुफा बजार सम्मका सानाठूला होटल भरिभराउ छ । उक्त क्षेत्रमा गुराँस फूल्ने सिजन त शुरु भएको छैन् । तर पनि दैनिक ५ हजार बढी पर्यटक आइरहेको पर्यटन विकास तथा प्रवर्द्धन समितिका सदस्य प्रकास श्रेष्ठले बताए । भारतीय र पूर्वी तराईका पर्यटक आउने क्रम बाक्लिएको २ हजार ९ सय मिटर उचाइँको गुफा बजारको याक होटलका संचालक फुजुङ शेर्पाले बताए । कात्तिक सुरु भए यता यो क्षेत्रमा आउने आन्तरिक पर्यटकको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

यहाँ पर्यटकीय पूर्वाधारसमेत निर्माण भइरहेकाले आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए । बढ्दो पर्यटककै कारणले कार्कीले पनि पर्यटक मार्ग टुटे देउरालीमा होटल व्यवसाय सुरु गरेका छन् । टीएमजे क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, संखुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारहरूले समेत चुनाव जितेमा टिएमजे क्षेत्रको विकास गर्ने भन्दै भोट माग्दै छन् । पछिल्लो समय कोसी पहाडको पर्यटन व्यवसाय फस्टाउँदै गएकाले पर्यटकीय सम्भावना बोकेका व्यवसाय छनोट गरी लगानी बढाइएको वसन्तपुरस्थित हिमालयन होटलका सञ्चालक सुशीला पौडेलले बताइन् । उनले उत्साहित भएर होटलको पूर्वाधार निर्माणमा २ करोड ५० लाखभन्दा बढी खर्चेको बताइन । पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफा सम्मको यो रुट आसपासका क्षेत्रमा बाहिरी जिल्लाका नागरिकले होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् । ताप्लेजुङकी डेङगा लामाले पर्यटक पदमार्ग सुकेमा ५० बढी पर्यटक अटाउन सक्ने हिमाली होटल सञ्चालनमा ल्याएकी छन् । वर्षको आधा महिना विदेशी पर्यटकले चहलपहल हुने यो पदमार्गका होटल तथा लजहरू अहिले आन्तरिक पर्यटकले भरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्