मेचीनगर, मंसिर १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर १ मा अग्नी खरेल, रविन कोइराला र सबिना बजगाईले जित्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

विहीबार ईटाभट्टामा एमाले क्षेत्र नम्बर १ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अग्नी र विश्वप्रकाश शर्माको लडाईभन्दा पनि राष्ट्रवादी र राष्ट्रघाती, विकास र विनाससँग जोडिएको विषय भएको पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले बताए । ‘अग्नीले जिते विकास र राष्ट्रवादीको हित हुन्छ’, अध्यक्ष ओलीले भने–‘तर विश्वप्रकाशले जिते मुलुकमा विकास सम्भव छैन । राष्ट्रघातीहरुको जित हुनेछ । यसकारण पनि गठबन्धनलाई परास्त गर्न आम नागरिक जाग्नु पर्ने बेला भएको छ ।’

‘अग्नी खरेललाई संसदमा नीति निर्माण गर्न र विकासका लागि यहाँ उम्मेदवार बनाएर पठाएका हौँ । हात्ती नियन्त्रण, तटबन्धदेखि वडासम्मको काम एमालेले गर्छ । तपाईहरु ढुक्क हुँदा हुन्छ ’ उनले भने ।

‘विश्वप्रकाश यहाँको रैथाने आफुलाई भन्छन् ’, ओलीले भने–‘२६ वर्षदेखि यहिँकै रैथाने भएर म पनि घुमिरहेको छु । यो क्षेत्रमा चुनाव लड्न म पनि आउन सक्छु । स्थायी र अस्थायी भन्ने हुँदैन । अग्नी झन् नजिककै हुन् । रैथाने हुनका लागि अग्नीको पनि एउटा छाप्रो यहिँ हाल्दिँदा भयो ।’ अध्यक्ष ओलीले कानूनमन्त्री, महान्यायाधिवक्ता समेत भइसकेका खरेल सरकार चलाउन सक्ने व्यक्ति भएको दावी गरे ।
स्वार्थका लागि टालटुल गरेर बनेका गठबन्धनका दलहरुले एमालेसँग एक्लै लड्ने हिम्मत गर्न नसकेको ओलीको भनाई छ ।

कार्यक्रममा झापा–१ प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेल, प्रदेश सभा सदस्य ‘१’ का उम्मेदवार रविन कोइराला, राप्रपाबाट प्रदेश सभा सदस्य ‘२’ की उम्मेदवार सबिना बजगाई, निर्वाचन परिचालन कमिटीका संयोजक विष्ण प्रसाईलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विभिन्न जातीय झाँकीहरु प्रदर्शन गरिएको थियो भने कलाकार राजा राजेन्द्रले हास्यव्यङगहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन टिकाराम मंग्रातीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्