झापा, मंसिर १ ।निवर्तमान सांसद एलपी साँवाले पाँच वर्षसम्म खासै काम नगरेपछि त्यसको फाइदा उठाउँदै गठबन्धनका उम्मेदवार देउकुमार थेबे पासा पल्टाउने दावी गरेका छन् ।

झापा क्षेत्र नं ४ को २८ वटै वडामा बिहीवार घरदैलो कार्यक्रम सम्पन्न गरेर उत्साहित देखिएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार थेबेले पत्रकारहरुसंग कुराकानी गर्दै भने‘ उत्साहजनक माहौल छ । त्यसकारण हाम्रो जीत सुनिश्चित छ ।’ आफूहरुले घरदैलोका क्रममा झापा क्षेत्र नं ४ का जनताको भावना बुझ्दा निवर्तमान सांसद साँवाले पाँच वर्षसम्म खासै काम नगरेकाले फेरि पनि उनलाई नै मतदान गर्न इच्छा मतदाताहरुले नदेखाएको थेबेले सुनाए ।

बाटोघाटो , खानेपानी , नदी नियन्त्रण,सुकुम्बासी,शिक्षा,स्वास्थ्यजस्ता समस्यातर्फ साँवाले ध्यान नदिएको बरु सांसद नभएर पनि आफूले सहयोग गरेको धारणा मतदाताले राखेको थेबेको भनाई छ । झापा क्षेत्र नं ४ मा ५४ मतदानस्थल र १४९ मतदान केन्द्र छन् । कूल मतदाताको संख्या १ लाख २३ हजार १२४ रहेको छ । थेबेको प्रतिष्पर्धी एमालेका उम्मेदवार साँवा छन् । अघिल्लो निर्वाचनमा पनि दुवैले प्रतिष्पर्धा गरेका थिए । त्यस निर्वाचनमा माओवादीको साथ पाएर साँवाले ४३ हजार ५१५ मत ल्याउँदा थेबेले २६ हजार ८२२ मत पाएका थिए । यसपटक भने आफू गठबन्धनको सहयोगमा ५ हजारबढी मतले विजयी हुने थेबेले दावी गरेका छन् ।

घरदैलोका क्रममा विभिन्न पार्टी परित्याग गरी गरी ८ सयबढी कांग्रेसमा प्रवेश गरेको कांग्रेसका जिल्ला सदस्य याम भुजेलले बताए । उनले आज साँझ पनि सुरुङ्गामा पार्टी प्रवेश कार्यक्रम राखिएको जानकारी दिए । गठबनधनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा थेबेले उम्मेदवारी दिँदा गठबन्धनकै तर्फबाट झापा ४(१) मा माओवादीका झलकसिंह दर्लामी र ४(२) मा कांग्रेसका एकराज उप्रेती उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्