झापा, मंसिर ४ ।बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मतदान स्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको छ ।

मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ । घटनास्थलमा रहेका पत्रकार पारश विक्रम शाहले अएडीको मृत्यु भएको र घटनास्थलमा प्रहरीले हवाइ फायर गरेको जानकारी दिएका छन् ।
यस क्रममा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम उपाध्याय र खडक अएडी छन् । घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ ।



