झापा, मंसिर ५ । ललितपुर निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो । ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना सुरु गरिएको छ ।

सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् ।
त्यस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । बोडेस्थित कृषि विकास तालिम केन्द्रमा राति २ बजे मतगणना सुरु भएको हो । हाललाई दुई ठाउँबाट मतगणना थालिएको प्रमुख निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिएका छन् ।

आइतबार भएको मतदानपछि समयमै मतपेटिका गणनास्थलमा आइपुगेको र राजनीतिक दलका प्रतिनिधिहरुबाट पनि सहयोग मिलेकाले रातिदेखि नै गणना गर्न सकिएको पराजुलीले बताए ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुरमा करिब ७२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय जानकारी दिएको छ । यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत र गठबन्धनबाट कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीबीच मुख्य प्रतिस्पर्धा छ ।
यसअघिको चुनावमा बस्नेत ३६ हजार ४१२ मत प्राप्त गर्दै निर्वाचित भएका थिए ।

त्यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत ललितपुर–२ मा मतगणना सुरु भएको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको कार्यालयमा राति साढे २ बजेदेखि मतगणना सुरु भएको हो ।
प्रमुख निर्वाचन अधिकृत दीपशिखा मुनाकमी पौडेलले चार ठाउँबाट मतगणना कार्य थालिएको जानकारी दिइन् । ललितपुरमा ५८ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जन उम्मेदवार छन् भने नेकपा एमालेका प्रेमबहादुर महर्जन चुनावी प्रतिस्पर्धामा छन् ।
१४ जना दलीय तथा ८ स्वतन्त्रसहित यस निर्वाचन क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रतिस्पर्धा भने गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारबीच हुने देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्