झापा , मंसिर ८ । झापा क्षेत्र नं २ मा उपविजेता बनेका स्वतन्त्र उम्मेदवार स्वागत नेपालले निर्वाचन जितेका एमालेका देवराज घिमिरेलाई बधाई दिँदै पहिले गरेका महाकाली सन्धी खारेज गरी जनताको अभिमतलाई सम्मान गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक संजालमार्फत बधाई दिँदै महाकाली सन्धीलगायतका सबै देशघाती सन्धी सम्झौता खारेज गरी जनताको अभिमतको सम्मान गर्न आग्रह गरेका हुन् । ‘ममार्फत हामीलाई जनताले प्रदान गर्नुभएका हरेक मत एमसिसि, महाकाली सन्धी, जबरजस्ती संविधानमा लादिएका जनघाती र देशघाती संरचना, किसानले आफ्नो उत्पादनको मूल्य प्राप्त नगर्ने शोषणसत्ता, भ्रष्टाचार, अविकास र वेथितिविरुद्धको शान्तिपूर्ण आवाज थियो। र, १२ वर्षअघिदेखि हामीले अदालतबाट उठाउँदै आएको र अदालतबाट जनतालाई दिलाएको राइट टु रिजेक्ट र रिकलको कानुन बनाऊ भन्ने आवाज थियो ’ उनले भनेका छन् ।

आफूले देशघाती र जनघातीविरुद्धको आवाज उठाउन झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएर हिजोसम्म सडक र अदालतबाट देश जोगाउन गरेको प्रयत्नलाई संसदसम्म पु¥याउने प्रयास गरेको भन्दै उनले जनताले आफूलाई अपार माया दिएर २६४४१ (विजेताभन्दा बाईस सय छपन्न कम) मतसहित उपविजेता बनाइदिएकोमा सम्पूर्ण मतदाताहरुमा सम्मानपूर्वक नमन गर्दै हार्दिक धन्यवाद ज्ञापन गरेका छन् । जनताका ती आवाजहरुलाई आफूहरुले फेरि पनि संगठित रुपमा अघि बढाउने, अन्यायमा परेकाहरुलाई न्याय दिलाउने र घोषणापत्रमा उल्लेख गरेका अन्य कामहरु व्यक्तिगत तथा सामूहिक रुपमा गर्न व्यवहारमै देखिने गरी कार्यालय नै स्थापना लागिरहने उनले बताएका छन् ।

उपविजेता नेपालले रकम बाँडेर कतिपय उम्मेदवारहरुले निर्वाचन जितेको दावी गरेका छन् । ‘चुनावमा मेरो अनुमानित खर्च मनोनयन दर्ता गर्दा नै ५ लाख लेखेको थिएँ। मैले त्यति पनि खर्च गरिनँ, सरकारले खर्च सीमा ३१ लाख तोकेको थियो, अरु उम्मेदवारहरुले करोडौं खर्च गर्नभयो, रकम बाँड्न हिँडेको अवस्थामा हाम्रा साथीहरूले भेट्नुभयो’ उनले भनेका छन् ‘ तर, हाम्रा साथीहरू आफैँ आफ्नो तेल खर्च गरेर हिँडिदिनुभयो, म आफैँ शाकाहारी साथीहरू पनि सबैले घरमै भेला भएर रुखोसुखो सादा खाना खाएर मसँगै समय दिएर लागिदिनुभयो। यो निर्वाचन अचम्मको भयो, यसरी साँच्चै भन्ने हो भने बिनाखर्च हामीले निर्वाचनमा सफलता प्राप्त ग¥यौं। साथीहरू सबैलाई कति पनि विचलित नहुन अनुरोध छ। यो हाम्रो हार होइन जित हो। ६५÷७० वर्ष इतिहास भएका पार्टीका उम्मेदवारहरुभन्दा थोरै मात्र मतसहित हाम्रो विचारमा सम्पूर्ण सत्ता र शक्ति प्रयोग गर्नेहरु विरुद्ध यो मत प्राप्त हुनु, हामीलाई प्राप्त मत हामीले बुझाउन नसकेको कारण बदर भएकोले पनि संख्यात्मक दृष्टिले प्राविधिक रुपमा निर्वाचित नहुनु ठूलो कुरा होइन, कोही सांसद बनेर देशघाती जनघाती काम गर्छन् हामी अझै पनि त्यसलाई रोक्ने छौं, दृढ बनेर ।’

नेपालले मतदातालाई धन्यबाद दिने कार्यक्रमसहित आज बिर्तामोड, शनिश्चरे लाइन, महानन्द चोकबाट धन्यबाद ¥याली आयोजना गरिने जनाएका छन् । झापा २ मा स्वतन्त्र उम्मेदवार नेपाललाई २२५६ मतले पराजित गरी एमालेका घिमिरे निर्वाचित भएका हुन् । घिमिरेले २८ हजार ६९७ मत ल्याउँदा नेपालले २६ हजार ४४१ मत पाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्