भद्रपुर, मंसिर ११ । झापामा हात्तीपाइले रोग निवारणसम्बन्धी सेम्पल सर्भे हुने भएको छ ।


तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिए । झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उनले बताए । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा (रिपोर्ट) आउने उनले बताए । १२ गते कचनकवल र १३ गते कुमरखोदमा सेम्पल सर्भे हुनेछ ।

सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन÷तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताए ।
रिपोर्टका आधारमा जिल्लामा हात्तीपाइले रोग निवारण भएको मानिनेछ । नकारात्मक रिपोर्ट आएमा झापामा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुनेछ । असफल भएमा यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा एक वटा औषधि थप भई तीन वटा औषधि सेवन गर्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताए ।

छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक सन् २०२० मा झापाको दमक र झापा गाउँपालिकामा सेम्पल सर्भे गरिएको थियो । मापदण्डभन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान सफल भएको घोषणा भएको थियो । सर्भेमा नतिजा सकारात्मक आए अभियान सफल हुने छ र माघ अन्तिममा १२ औं पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गरिने छ । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाका विश्वनाथ बराल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, स्वास्थ्य कार्यालय झापाका प्रमुख जागेश्वप्रसाद यादवलगायतले हात्तीपाइले रोग निवारणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्