झापा , मंसिर १२ । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ ।

गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उनले बताए । आ.व २०७७/०७८ र आ.व २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आ.व २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो । गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार ६ सय २५ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । प्लटिङलगायतका भू-खण्डीकरणका कारण जिल्लामा धानखेतीको क्षेत्रफल केही घटे पनि उत्पादन बढेको उनले बताए । त्यस्तै, जिल्लामा आ.व २०७८/०७९ मा १९ हजार आठ सय हेक्टरमा चैते धान खेती गरिएको थियो । यसको उत्पादकत्व पाँच दशमलव दुई मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्