झापा , मंसिर १३ । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र बिस्तारै सुनसान बन्दै गएको छ ।

पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरु अहिले सुनसान बनेका छन् । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ परेका यहाँका होटल व्यवसायीहरुलाई समेत यतिखेर फुर्सद मिलेको स्थानीय होटल व्यवसायी दामु शेर्पाले बताइन् । केही हप्ता अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र अहिले शान्त छ । सिजनमा आवातजावतसमेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले सिमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक अनुसार पछिल्लो एक सातामा १३ सय ९० जना पर्यटक भित्रिदा २१ सय ७ जनाले खुम्बु छोडेका छन् । सिजनमा दैनिक ७ सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक न्यून रहेको निकुञ्जका सुचना अधिकारी मनोज मण्डलले जानकारी दिए । पर्यटकको अवगमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरु पनि केही फुर्सदिला बनेको निकुञ्जको कार्यालयले जनाएको छ । सिजनमा अत्यन्तै चाप हुने भएकाले सिजन सकिएपछि घुम्नका लागि अधिकांश व्यवसायी तथा होटल सञ्चालकहरु बाहिर निस्कने गरेका छन् । यस क्षेत्रका नागरिकहरुको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै उनीहरु फुर्सदिला बनेका हुन् । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर,भ्रमण लगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरुको विशेषता जस्तै बनेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्