झापा, मंसिर १४ । झापामा हात्तीपाइले रोगविरुद्धको अभियान असफल भएको छ ।

हात्तीपाइले रोग निवारणसम्बन्धी गरिएको सेम्पल सर्भेमा तोकिएको मापदण्डभन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि जिल्लामा हात्तीपाइले रोग निवारण हुन सकेन ।
झापाको कचनकवल गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिएको थियो । दुवै ठाउँका ६ सयजनामा सेम्पल सर्भे गरिएको थियो । रोग निवारण भएको घोषणा गर्नका लागि सर्भेमा पाँच वा पाँचभन्दा कममा हात्तीपाइलेको जीवाणु भेटिनु पर्नेमा कचनकवलमा २१ जना र कुमरखोदमा १३ जनामा जीवाणु भटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए । धेरैमा जीवाणु भेटिएपछि अझै दुई वर्ष हात्तीपाइले रोगविरुद्धको अभियान संचालन गरिने उनले बताए ।
सोमवार कचनकवल र मंगलवार कुमरखोदमा सेम्पल सर्भे गरिएको थियो । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा (रिपोर्ट) आउने गरी सेम्पल सर्भे गरिएको थियो ।
सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन÷तीन सय स्थानीयबासीको रगत परीक्षण गरिएको थियो । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे÷नरहेको परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले बताए ।
झापामा हात्तीपाइले रोगविरुद्धको अभियान असफल भएपछि यसअघि दुईवटा औषधि सेवन गराइँदै आएकोमा एउटा औषधि थप भई तीन वटा औषधि सेवन गर्नुपर्ने फोकल पर्सन श्रेष्ठले बताए ।
छ वर्षमा झापामा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहे पनि ११ वर्षसम्म पनि सफलता मिलेको छैन । अघिल्लो पटक सन् २०२० मा झापाको दमक र झापा गाउँपालिकामा सेम्पल सर्भे गरिएको थियो । त्यतिबेला पनि मापदण्डभन्दा बढीमा हात्तीपाइले रोगको जीवाणु भेटिएपछि अभियान असफल भएको घोषणा गरिएको थियो ।
आगामी माघ अन्तिममा १२ औं पटक औषधि सेवनपछि जिल्लालाई हात्तीपाइले रोग निर्मूल भएको जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको थियो । गत वर्ष झापामा ८६ प्रतिशत मानिसले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका थिए ।