झापा , मंसिर १५ । ठूला तारे होटलमा लाखौं रुपैयाँ खर्च गर्दै साथीभाइ, आफन्तसंग भोज खाएर मनाउनु उचित नठानेर बिर्तामोडका अग्रवाल दम्पत्तीले आफ्नो विवाह वर्षगाठ झापा नाटकघरलाई सहयोग गरेर मनाएका छन् ।

बिर्तामोडका व्यवसायी तथा मारवाडी सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरे – मायादेवी अग्रवालले आफ्नो ४२ औं विवाह वर्षगाठ बिर्तामोड –१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुजाति ,बहुभाषी , बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरको निर्माण पूरा गर्न ५१ हजार रुपैयाँ प्रदान गरेर मनाएका हुन् ।
पछिल्लो समय नेपाली समाजमा जन्मदिन, विवाह वर्षगाठलगायतका कार्यक्रमहरुमा फजुल खर्च गर्ने, तडक–भडक देखाउने प्रचलन बढ्दो रहेको र त्यस्तो कार्यले समाजमा विकृति फैलिने भएकाले समाजमा जन्मदिन,विवाह वर्षगाठमा गरिने फजुल खर्चले सामाजिक कार्य गर्न सकिन्छ भन्ने सन्देश दिन झापा नाटकघरलाई सहयोग गरेर विवाह वर्षगाठ मनाएको बिर्तामोडका व्यवसायी तथा मारवाडी सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले बताए । विगतका बर्षदेखि नै आफूले विवाह वर्षगाठ केही न केही नयाँ तरिकाले मनाउने गरेको बताउँदै उनले विवाह वर्षगाठमा अनावश्यक खर्च गर्नुभन्दा समाजमा केही फरक तरिकाले मनाउँदा आफूलाई आत्मसन्तुष्टी मिल्ने जानकारी दिए । झापा नाटकघरमा आयोजित कार्यक्रममा सुरेशकुमार अग्रवाल भद्रपुरे – मायादेवी अग्रवालले आफ्नो ४२ औं विवाह वर्षगाठको प्रतिकको रुपमा त्यहाँ रहेको ४२ वटा दीप प्रज्जवलित गरेका थिए भने केक काटेर एक अर्कामा खुशियाली साटासाट गरेका थिए । विवाह वर्षगाठ मनाउन आफ्ना अग्रज र साथीभाइसंग झापा नाटकघर पुगेका उनीहरुलाई क्षितिज नौमती बाजा व्यवस्थापन समितिका महिलाले नौमती बाजा बजाएर स्वागत गरेका थिए । पुरुषले सरह नौमती बाजा बजाएर आफ्नो मौलिक बाजागाजा र संस्कृतिको संरक्षण गरेको भन्दै अग्रवाल दम्पत्तीले क्षितिज नौमती बाजा व्यवस्थापन समितिका महिलालाई नगद १० हजार रुपैयाँ सहयोग गरेका थिए ।
मारवाडी समुदायका अग्रज तथा सुरेशकुमार अग्रवाल भद्रपुरेका दाजु राजकुमार अग्रवालको अध्यक्षता तथा अग्रसेन भवनका संस्थापक सुरेशकुमार वंशलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षितिज साहित्य प्रतिष्ठानका अध्यक्ष तुलसीप्रसाद भट्टराईले स्वागत गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष सञ्जीव घिमिरे,मारवाडी सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष पवन खेडियालगायतले अग्रवाल दम्पत्तीले विवाह वर्षगाठमा झापा नाटकघरमा सहयोग गरेर उदाहरणीय कार्य गरेको र यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने बताउँदै आफूहरुले निर्माणाधिन झापा नाटकघरको निर्माण पूरा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै रोटरी क्लव डिष्ट्रिक ३२९२ एडीसनल गभर्नर निकिता गिरीले अग्रवाल दम्पत्तीको सफल वैवाहिक जीवनको कामना गर्दै झापा नाटकघरलाई ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिन् ।
कार्यक्रममा मोरिक साधना कलाकेन्द्र बिर्तामोड –२ चारपानेका कलाकार सम्बृद्धि खड्का र बिशिका संग्रौलाले नृत्य गरेर मनोरञ्जन दिएका थिए भने उनीहरुको नृत्यलाई मन पराएर मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तलले नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय सदस्य माधव सिटौलाले तारादेवीको जस्तै स्वरमा गीत प्रस्तुत गरेर सवैको वाहवाही पाएका थिए भने क्षितिज संगीत साधना प्रतिष्ठानका अध्यक्ष निरज पोखरेल र गायक अर्जुन खरेलले गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा क्षितिज नाट्य प्रतिष्ठानका पदाधिकारीहरुले सुरेशकुमार अग्रवाल भद्रपुरे – मायादेवी अग्रवाललाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले गरेका थिए ।