झापा , मंसिर १७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएको हो ।
ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएको उनले बताए ।
ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यको परिचय खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।