झापा,मंसिर १७ । झापाको दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

अर्जुनधारामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो भने अर्का घाइते भएका छन् । राति ११.४५ बजे अर्जुनधारा नगरपालिका वडा ४ भाङबारीस्थित भित्री सडकखण्डमा लक्ष्मीपुरबाट रातेखोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२- ०१८ प ८३८५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल पाँचथर फिदिम नगरपालिका १ बस्ने ३५ वर्षिय गंगाराम काफ्लेको टाउकोमा चोट लागेर उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । सोहि मोटरसाइकलमा पछाडि सवार फिदिम १ बस्ने. ४० वर्षिय मिलन बस्नेतको टाउको र शरीरको विभिन्न भागमा चोट लागेर बिर्तासिटि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल प्रहरी चौकी शनिश्चरेको नियन्त्रणमा रहेको छ भने आज बिहान ११ बजे पोष्टमार्टमपश्चात् मृतकको शव काका राजेन्द्र काफ्लेले बुझीलगेको प्रहरीले जनाएको छ ।
त्यस्तै गएराति ११ बजे मेचीनगर नगरपालिका-१० निन्दा पुलस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमवाट पूर्वतर्फ जाँदै गरेको प्र १-०१-१२ प ४३७१ नं.को मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिएको छ । पैदलयात्री तत्काल नाम, थर ,वतन नखुलेको अन्दाजी ७० वर्षका तराई मुलको जस्तो देखिने बृद्ध गम्भीर घाईते भई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाएकोमा राति ११.२० बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक मेचीनगर ८ बस्ने ३८ वर्षिय नकुल श्रेष्ठको टाउकोमा चोट लागेर घाईते भई उपचार भईरहेको र मोटरसाइकल ईलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जनाइएको छ ।