एजेन्सी । सेनेगललाई हराउँदै इङ्ल्यान्ड फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अल बयात स्टेडियममा गएराति सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।
इङ्ल्यान्डका लागि जोर्डन हेन्डर्सन, ह्यारी केन र बुकायो साकाले एक÷एक गोल गरे । खेलको ३८औँ मिनेटमा जोर्डन हेन्डर्सनले गोल गर्दै अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा ह्यारी केनले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । साथै, खेलको ५७औँ मिनेटमा बुकायो साकाले थप एक गोल गर्दै इङ्ल्यान्डलाई तीन गोलको अग्रता दिलाए ।
अब इङ्ल्यान्डले अन्तिम आठमा फ्रान्ससँग खेल्ने छ । पोल्यान्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

पोल्यान्डलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वाटर फाइनल (अन्तिम ८) पुगेको हो ।
कतारको अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोलले हरायो । पहिलो हाफमा १–० गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्यो । फ्रान्सका ओलिभर जिरुडले ४४ औँ तथा केलियन एमबाप्पेले ७४ औँ र ९१ औँ मिनेटमा गोल गरे । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरे ।
फ्रान्सका जिरुडले एक गोल गर्दै देशका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । जिरुडले गोल संख्या ५२ पुर्याएका छन् । उनले लिजेन्ड थिएरी हेनरीको कीर्तिमानलाई तोडेका हुन् । हेनरीको गोल संख्या ५१ छ ।
यो खेलमा दुई गोल गर्दै २३ वर्षीय एमबाप्पेले विश्वकपमा गोल संख्या नौ पुर्याएका छन् । यो विश्वकपमा उनको यो पाँचौँ गोल हो । एम्बाप्पे २३ वर्षको उमेरमा विश्वकपमा ९ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन्।



