झापा, मंसिर २१ । प्रदेश १ मा झापाका ८ जना समानुपातिक सिटमा पर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट तीन , नेकपा एमालेबाट दुई , राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई र नेकपा माओवादी केन्द्रबाट एकजना समानुपातिक सांसद बन्ने भएका हुन् । नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा उद्धब थापा ,मोहन महर्जन र लख्खी गणेश प्रदेशसभा सदस्यमा चयन हुने भएका हुन् । उनीहरुलाई क्लष्टर हेरेर झापाबाट तान्ने निर्णय भइसकेको जिल्ला सभापति देउकुमार थेबेले बताए । त्यस्तै कांग्रेसले प्रतिनिधिसभामा झापाबाट सरिता प्रसाईलाई समानुपातिक कोटामा पठाउने भएको छ । त्यस्तै प्रदेश १ मा पाँचथरबाट मैया श्रेष्ठ लावतीलाई पठाउने निर्णय भएको थेबेले जानकारी दिए । ताप्लेजुङबाट प्रतिनिधिसभामा लीला बोखिम कांग्रेसबाट समानुपातिक सांसद बन्ने जनाइएको छ । प्रदेश १ मा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सिट हात पारेको छ । कांग्रेसको कुल सिट संख्या २९ भएको छ ।

त्यस्तै प्रदेश १ मा ४० स्थान प्राप्त गर्दै पहिलो दल बनेको नेकपा एमालेले झापाबाट कमला थापा मगर र तारादेवी ढकाललाई समानुपातिक सांसद बनाउने भएको छ । प्रत्यक्षतर्फ २५ स्थानमा जितेको एमालेले समानुपातिकमा १५ सिट प्राप्त गरेको छ ।

त्यस्तै राप्रपाले झापाबाट अम्बर विष्ट र निमसरी राजवंशीलाई समानुपातिक सांसदको कोटामा तान्ने भएको छ । प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकमा ४ स्थान हात पारेको छ । चार समानुपातिक सिटमध्ये दुई झापालाई दिने जनाइएको छ ।

त्यस्तै माओवादी केन्द्रले झापाबाट बन्दना झाँगडलाई समानुपातिक सांसद बनाउने भएको छ । प्रदेश १ मा एमाले र कांग्रेसपछि तेस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । उसले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ स्थान प्राप्त गरेको हो । योसहित माओवादीको १३ स्थान भएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीको प्रदेशसभामा ४ जना सांसद रहने भएको छ । सो दलले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १ स्थान प्राप्त गरेको छ । त्यसैगरी जसपाले समानुपातिकतर्फ १ स्थान प्राप्त गरेको छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्