झापा, मंसिर २३ । नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकबाट निर्वाचित हुने ३४ मध्ये झापाका तीनजनालाई छान्ने भएको छ ।

झापाका हर्कमाया विश्वकर्मा , अमृतलाल राजवंशी र कालुराम राई(केआर खम्बू) प्रतिनिधिसभामा समानुपातिक सांसद बन्ने भएका हुन् ।
राजवंशी तेस्रोपटक समानुपातिक सांसद बन्न लागेका हुन् । उनी यसअघि नेपाली कांग्रेसका तर्फबाट दुईपटक समानुपातिक सांसद बनेका थिए । उनलाई एमालेले मधेसी पुरुष कोटाबाट सांसद बनाउन लागेको हो । बिर्तामोड ४ निवासी राजवंशी स्थानीय तहको निर्वाचनअघि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै हर्कमाया विश्वकर्मा दलित महिला कोटाबाट सांसद बन्ने भएकी छन् । बिर्तामोड ५ निवासी उनी यसअघि बिर्तामोड ५ को वडा सदस्य रहेकी थिइन् । त्यस्तै आदिवासी जनजाति पुरुष कोटाबाट छानिएका प्राध्यापक केआर खम्बू दृष्टिविहीन हुन् ।भद्रपुर निवासी प्राध्यापक खम्बू झापाको वामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील व्यक्ति हुन् । उनी झापा आन्दोलनताका वेला प्रधानमन्त्री केपी ओलीलगायत नेतासँग निकट रहेर काम गरेका राजनीतिकर्मी पनि हुन् । पछिल्लो चरणमा भने उनी प्राज्ञिक क्षेत्रमा क्रियाशील छन् ।
एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकबाट निर्वाचित हुने ३४ मध्ये १९ महिला र १५ पुरुषमध्ये विभिन्न समूहबाट पठाउनेगरी प्रारम्भिक प्रस्ताव तयार गरेको हो । एमाले स्रोतका अनुसार प्रस्तावमाथि छलफल र निर्णय गर्न आज एमालेको सचिवालय बैठक बस्दैछ ।
एमालेले तयार पारेको प्रारम्भिक प्रस्तावमा खास आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातितर्फ ५ महिला र ५ पुरुष, मधेशीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने उल्लेख छ ।
यो प्रस्ताव अनुसारकै सूची हेरफेर नगरी एमालेको सचिवालयले पारित गरेमा निर्वाचन आयोगमा यसअघि बुझाएको बुन्दसूचीको क्रमसंख्याको आधारमा को को व्यक्ति पर्छन् भन्ने निश्चित हुन्छ ।
खस आर्य पुरुष
यो प्रस्ताव अनुसार खस आर्य समूहबाट ५ पुरुष पठाउँदा रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल पर्छन् ।
खस आर्य महिला
खस आर्यका ६ जना महिलामा मेनका पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया पर्ने छन् ।
आदिवासी जनजाति पुरुष
आदिवासी जनजातितर्फ १० मध्ये ५ महिला र ५ पुरुष पठाउने प्रस्ताव छ । यसअनुसार आदिवासी जनजाति पुरुष ५ जनामा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल रहेका छन् ।
आदिवासी जनजाति महिला
आदिवासी जनजातितर्फ ५ महिलामा नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी रहेका छन् ।
दलित पुरुष
एमालेले दलित ५ जना पठाउनुपर्ने छ । त्यसअन्तर्गत दलितर्फ २ पुरुषमा ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध पर्छन् ।
दलित महिला
दलिततर्फ ३ महिलामा रुक्मिणी राना बराईली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी रहेका छन् ।
मधेसी पुरुष
मधेसी ५ सिटमा एमालेले पुरुषतर्फ २ जना पठाउने प्रस्ताव गरेको छ । यसअनुसार बन्दसूचीमा मधेसी पुरुषको पहिलो र दोस्रो नम्बरमा गंगाप्रसाद यादव र अमृतलाल राजवंशी पर्छन्
मधेसी महिला
तीन मधेसी महिलामा विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखियाको नाम बन्दसूचीमा छ ।
थारु पुरुष÷ महिला
एमालेले थारुतर्फ दुई जना पठाउनुपर्ने छ । त्यसअनुसार महिला र पुरुष एक÷एक जना पठाउने प्रस्ताव गरेको छ । थारु पुरुषको एक नम्बरमा सत्यनारायण चौधरी र महिलामा अस्माकुमारी चौधरी छन् ।
मुस्लिम
मुस्लिमतर्फ एक महिला पठाउँदा बन्दसूचीअनुसार रुही नाज पर्छिन् ।