बिर्तामोड, मंसिर २४ । बिर्तामोड नगरपालिका कार्यालय परिसर हिजो दिनभरि होहल्लामै बित्यो ।बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसमेत प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको विरोधमा उत्रिएको देखियो ।

बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसंगै सत्तासीन नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई कार्यालयमा कुरेर बसे । तर, उनी हिजो दिनभरि कार्यालय आएनन् । न्यौपानेसंगै नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद प्रसाई कार्यालयबाहिर नै व्यस्त रहेको खबर पाएपनि आन्दोलनकारी दिनभरि नगरपालिका परिसरमै होहल्ला गरिरहे । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको रवैया र कार्यशैलीप्रति उनीहरु रुष्ट देखिएका हुन् । विभिन्न असन्तुष्टिका बीच केही दिनअघि न्यौपानेले एमालेका नगर सचिव शेखर कँडेललाई अपमानित ढंगले बोलेको आरोप लागेको हो । सोही घटनालाई लिएर जनप्रतिनिधि र एमाले कार्यकर्ताहरु न्यौपानेलाई स्पष्टीकरण सोध्न गएका थिए ।तर, उनी आएनन् । देउनिया खोलामा गिटी बालुवा झिक्नेक्रममा भद्रपुर नगरपालिकाका नगर प्रहरीले झुक्किएर बिर्तामोडको एउटा ट्रयाक्टर समातेर लगेको घटनाको विषयमा उनीहरुबीच विवाद भएको हो । आफूले भद्रपुर नगरपालिकाले गलत गरेको त्यस घटनाका बारेमा न्यौपानेलाई जानकारी गराउँदा उल्टै असभ्य शव्द प्रयोग गरेको कँडेलले बताए ।

त्यस घटनाका बारेमा जानकारी गराउँदा न्यौपानेले ‘एकदम राम्रो काम गर्नु भयो मलाई खुसी लाग्यो , यति एउटा मात्रै पक्रिनु भयो ? सबै समातेको भए हुन्थ्यो । पक्रिनु राम्रो कुरा हो । म भएको भए अझै पक्रिन्थे । म एकदमै धन्यवाद दिन्छु’ भनेर जवाफ दिएको कँडेलले बताए । कार्यपालिका बैठकले निर्णय गरिसकेर खोलाबाट गिटी बालुवा निकालेको कुरा स्मरण गराउँदा न्यौपानेले ‘त्यो कुरा म जान्दिनँ ,कार्यपालिकाले कसरी पास गर्यो । म त्यसको एगेन्स्टमा छु । वडा अध्यक्षको हालीमाली चल्या छ । मेयर उपमेयरको कुरा मलाई थाहा छैन, म नितान्त त्यसको विरोधी हो । यो गाडी समातेर ल्याउने कुरामा उहाँहरुलाई स्यावास दिन्छु । तपाई चाहिँ यो फजुल कुराहरु गरेर मेरो टाईम नलिनुस् । यस्ता फजुल कुराहरु आईन्दादेखि मसंग नगर्नुस्’ भन्दै अपमान गरेको कँडेलले सुनाए । उनले त्यस घटनाको घोर भत्र्सना गरेका छन् ।

बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेको कार्यशैली ठीक नभएको बताए । जनप्रतिनिधिप्रति उत्तरदायी नबनी आफूखुशी गर्न खोजेको उनले आरोप लगाएका छन् । बिर्तामोड ३ का वडाध्यक्ष हरि बाँसकोटाले न्यौपानेको स्वभाव ठीक नलागेको बताए । ‘ नगरपालिकामा जाँदाखेरी आफूहरुले नमस्कार गर्दासमेत नफर्काउने उहाँको स्वभाव ठीक लागेन’ उनले भने,‘ यस्ता अधिकृतसंग काम गर्न सकिदैन ।’ नेकपा एमाले बिर्तामोड ७ का अध्यक्ष विष्णु भट्टराईले कृत्रिम पशु गर्भधारण (एआई)को लागि मेयर र उपमेयरले तोक लगाएर बजेट विनियोजन गर्ने निर्णय गर्दासमेत अधिकृत न्यौपानेले बजेट नदिएको आरोप लगाए । उनले बिर्तामोड नगरपालिकामा न्यौपानेको एकलौटी हालीमुहाली बढ्दै गएकोसमेत आरोप लगाए ।

एमालेका नगर सचिव कँडेल नेतृत्वको डेलिगेसनमा बिर्तामोड ७ का वडाध्यक्ष खरेल , ३ का वडाध्यक्ष मदन बुढाथोकी , वडा सदस्य हरि बाँसकोटा , एमाले बिर्तामोड ७ का अध्यक्ष विष्णु भट्टराई , पार्टीका नगर सदस्य बद्री प्याकुरेल , प्रदीप खरेल , वडा कमिटीका उपाध्यक्ष गणेश कोइराला , युवा संघका राजन खरेल , पोष्टबहादुर काफ्ले , जिल्ला कमिटी सदस्य अफरोज खान , एमाले बिर्तामोड ८ का सचिव युवराज गौतम , युवा नागरिक समाजका अध्यक्ष केशव भण्डारीलगायतको सहभागिता रहेको थियो । उनीहरुले त्यस विषयमा नगर प्रमुख प्रसाई , उपप्रमुख संग्रौला र एमाले नगर अध्यक्ष सुवास भट्टराईलाई फोनमार्फत जानकारी गराएका छन् । एमाले अध्यक्ष भट्टराईले फोनमार्फत सोमवार बिहान ११ बजे अधिकृत न्यौपानेसंग छलफल गराउने आश्वासन दिएपछि आक्रोशित भीड नगरपालिकाबाट गएको थियो । सहभागीहरुले यसअघिका प्रमुख प्रशासकीय अधिकृतहरुले क्वाटर भाडावापत महिनाको १० हजार रुपैयाँ खर्च गरेकोमा न्यौपानेले प्रतिमहिना क्वाटर भाडा वापत २५ हजारसहित गाडी र इन्धनमा पनि फजुल खर्च गरिरहेको आरोप लगाएका थिए ।

यसैबीच प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने आफू मेयर र उपमेयरप्रति उत्तरदायी बन्ने तर पार्टीका कार्यकर्ताप्रति उत्तरदायी बन्न नसक्ने प्रतिक्रिया दिएका छन् । आफूले गल्ती गरेको भए सजाय भोग्न तयार हुने बताउँदै उनले आफूमाथि इन्टेन्सल्ली व्यवहार नगर्न आग्रह गरे । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर आई. ए. ई. गरिसकेपछि मात्र कानूनसम्मत रुपमा खोलाबाट गिटी बालुवा निकालिनु पर्नेमा प्रक्रिया नपुर्याइ काम गर्दा आफूले विरोध गरेको उनले स्पष्ट पारे । गाडी नहाल्नुपर्ने ठाउँमा हालेपछि पक्राउ गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।‘म अप्ठ्यारो अबस्थामा थिएँ’अधिकृत न्यौपानेले त्यस दिनको कुराकानीका बारेमा भने‘ मोबाइलमा राम्ररी आवाज सुनिएको थिएन तर , मैले उहाँलाई अमर्यादित र अपमानित ढंगले बोलेको जस्तो लाग्दैन ।’ न्यौपाने गत माघ महिनामा सुनसरीको दुहवी नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्