झापा,मंसिर २५ । झापामा मानव अधिकार उल्लंघनका घटना बढ्दै गएको छ ।

गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेका हुन् । मानवअधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ को जनवरी १ देखि नोभेम्वरसम्म झापा जिल्लामा १९५ वटा घटनामा १ सय ९९ जना पीडित भएको अभिलेख सार्वजनिक गरेको हो ।

७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार संजाल झापाद्वारा बिर्तामोडमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन तथा पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि नरेश खातीले प्रस्तुत गरेको कार्यपत्रमा सन् २०२२ जनवरी १ देखि नोभेम्बर (अर्थात् ०७८ पौष १५ देखि ०७९ मंसिर १५गतेसम्म) को अवधिलाई हेर्ने हो भने झापामा पत्रकारमाथि सामाचार लेखेकै कारण धम्कीका विषयले मानव अधिकार रक्षकमाथि सामाजिक सुरक्षाका विषयमा प्रश्नचिन्ह खडा भएको उल्लेख छ ।

त्यस्तै जातीय विभेद, महिला बालबालिकामाथि बलात्कार, बलात्कार प्रयास, दाइजो मागेको, मानव बेचबिखन, घरेलु हिंसा, हत्या, हत्या प्रयास र बहुविवाहजस्ता घटनाहरु सन् २०२२ मा पनि निरन्तर भईरहेको अवस्था छ ।

छोराले आमाको र पतिले पत्नीको हत्या गर्नुले अहिलेको समयमा पनि घरेलु हिंसा सहन बाध्य महिलाको अवस्थाले समाजमा उनीहरुको अवस्था चित्रण गरेको छ । यस अवधिमा जिल्लामा ४ वर्षीया बालिकादेखि ५२ वर्षीया महिला बलात्कार घटनामा पीडित भएका छन् । महिला बालबालिकाहरु आफ्नै नजिकका छिमेकी, नातेदारहरुबाट बलात्कारजस्ता घटनामा पीडित भएको कार्यपत्रमा उल्लेख छ ।

चिनजानका व्यक्तिहरुले रोजगारीको प्रलोभन देखाएर महिलाहरुलाई काँकरभिट्टाको नाकाबाट भारततर्फ बेचबिखनको उद्देश्यले लगेको अनुगमनका क्रममा पाइएको छ । यसले झापामा सामाजिक सुरक्षामा चुनौती खडा गरेको छ ।
जिल्लामा दलितसँग विवाह गरेको र दलित भएकै कारण आमा बाबु र सासु ससुराको काज किरिया गर्न नपाउनुले जातीय विभेदको संरचना समाजमा कायमै रहेको निश्कर्ष निकालिएको छ । विद्यालयमा शिक्षिका तथा छात्राहरुमाथि सहकर्मीद्वारा यौन दुव्र्यवहारका घटना बढ्नुले कार्यस्थलमा महिला बालबालिका असुरक्षित रहेको प्रष्ट हुन्छ । जिल्ला कारागार झापामा क्षमताभन्दा बढी कैदी बन्दी राखेका कारण उनीहरूको आधारभूत अधिकारको सम्बोधन हुन नसकेको देखिएको छ । स्थानीय तह तथा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा अपाङ्ग, ज्येष्ठ नागरिकले सहज ढङ्गले मताधिकार प्रयोग गर्नमा समस्या भएको विषयलाई आगामी दिन राज्यले सम्बोधन गर्नु पर्ने कार्यपत्रमा उल्लेख छ ।

सन् २०२१ को जनवरीदेखि नोभेम्बरसम्म हत्याको २ वटा, महिला अधिकारसँग सम्बन्धित ८२ वटा, बाल अधिकारका ८३ गरी जम्मा १ सय ६७ वटा घटनाहरुमा १ सय ६७ जना पीडित भएका थिए । सन् १९९२ देखि नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन गर्दै आएको छ ।

मानव अधिकार संजाल झापाका अध्यक्ष विष्णु खरेलको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि वरिष्ठ अधिवक्ता लीला उदासी , प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल , नेपाल वार एशोसिएसन झापाका सचिव हेमकला कट्टेललगायतले टिप्पणी गरेका थिए । कार्यक्रमको संचालन संजालका सचिव रुपक खनालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्