झापा , मंसिर २६ । मोरङको बूढीगंगा गाउँपालिका-२ मा रहेको विराट शिक्षण अस्पताल परिषरभित्र करेन्ट लागेर आइतबार साँझ एकजना मजदुरको मृत्यु भएको छ ।

अस्पतालको नयाँ भवन निर्माणमा खटिएका मोरङको कटहरी गाउँपालिका-५ का १९ वर्षीय सुमन सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार काम सकेर छुट्टी भएपछि हातखुट्टा धुने क्रममा कलमा जडान गरिएको मटरबाट साँझ ७ः१५ बजेतिर करेन्ट लागेर सरदार घाइते भएका थिए । गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा सरदारको मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार सोमबार बिहानसम्म शव अस्पतालको आकस्मिक कक्षमै छ । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेपछि शव आकस्मिक कक्षमै रहेको हो । अस्पतालले लापरबाहीपूणर् तरिकाले कलबाट मटर जडान गरेका कारण घटना भएको उनीहरुको आरोप छ । उनीहरुले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् । अस्पतालले भने घटनाका विषयमा कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि समस्याको समाधानका लागि मृतक पक्ष र अस्पताल प्रशासनबीच छलफलको प्रयास भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्