झापा , मंसिर २७ । प्रदेश १ का विभिन्न जिल्लामा लडेर ३ जनाको मृत्यु भएको छ ।

उदयपुर, पाँचथर र सुनसरीमा घटना भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार मृत्यु हुनेमा २ जना वृद्ध पुरुष र १ जना महिला रहेका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ मुर्मेका ६० वर्षीय गंगाबहादुर तामाङको अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु भएको राईले बताए । अरिङ्गाल पोल्न साजको रुखमा चढेका बेला साँझ ७ः३० बजेतिर लडेर तामाङ घाइते भएका थिए । गम्भीर घाइते तामाङको उपचारका लागि लैजाने तयारी हुँदै गर्दा राति १०ः३० बजेतिर मृत्यु भएको प्रदेश प्रहरी प्रवक्ता एसपी राईले बताए । त्यस्तै पाँचथरमा बिहे घरबाट फर्किदै गर्दा लडेर फाल्गुनन्द गाउँपालिका-५ का ७६ वर्षीय हर्कप्रसाद चेम्जोङको मृत्यु भएको छ । क्षीतिज चेम्जोङको विवाहबाट फर्किने क्रममा लुप्चा कुलोमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसैबीच लडेर घाइते भएकी सुनसरीको बर्जु गाउँपालिका-४ की ४० वर्षीया फुलोकुमारी बहरदारको मृत्यु भएको छ । गत मंसिर ९ गते बर्जु-४ स्थित नहरको पुलबाट लडेर बहरदार घाइते भएकी थिइन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार पश्चात गत आइतबार उनलाई डिस्चार्ज गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ थप उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइयो । उपचारकै क्रममा राति ९ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी प्रवक्ता राईले ३ वटै घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्