एजेन्सी । अर्जेन्टिना फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे ।

पहिलो हाफमै २–० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो । पहिलो हाफको ३४औँ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरे । लगत्तै ३९औँ मिनेटमा अर्जेन्टिनाका जुलियन अल्भारेजले काउन्टर अट्याक गोल गरे ।
दोस्रो हाफको ६९औँ मिनेटमा अल्भारेज गोल थप्न सफल भए । त्यसपछि अर्जेन्टिनाले ३–० को अग्रता लियो ।

अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियासँग ब्यहोरेको ३–० गोलको हारको बदला पनि लिएको छ । योसहित अर्जेन्टिना विश्वकपमा छैटौँ पटक फाइनलमा पुग्यो ।
अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो । उसले १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप उपाधि जितेको छ ।

यो जितसँगै फाइनलमा पुगेको अर्जेन्टिनाले अब आज राति हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । दोस्रो सेमिफाइनलमा आज राति पौने १ बजे फ्रान्स र मोरक्को खेल्दैछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्