झापा , मंसिर २८ । हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् ।
केही अगाडि एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले अगामी पुस महिनाको अन्तिम साताबाट आफ्नो शो ल्याउन तयारी गरेका छन् । आफुले शो ल्याउने सम्पूणर् तयारी सकिएको उनले बताए । ‘अब पुसको अन्तिमबाट मेरो कमेडी रियालिटी शो आउँदैछ,’ उनले भने ‘प्रसारका लागि टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन पनि केही दिनमा फाइनल हुन्छ ।’ यो पटक शोमा केही कलाकार नयाँ र केही पुराना हुने उनले सुनाए । जीतुले शोमा रहने कलाकार, ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत दिने सोच बनाएका छन् । त्यसैले शोको विषयमा उनले अहिले धेरै कुरा बताउन चाहेनन् । ‘छिट्टै शोको विषयमा पत्रकार सम्मेलन हुनेछ’ उनले थपे । नेपालले यस अगाडि ‘मुन्द्रेको कमेडी क्लब’ शो कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै बन्द गरेका थिए । ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो थियो । जीतु आफैले होष्ट गरेको उक्त शोमा उनीसहित उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिँदै आएकी थिइन् । सुरुवातको समयमा कमेडी क्लबमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि थिइन् ।




