बिर्तामोड, मंसिर २८ । महिलाहरुले मात्र संचालन गरेको बिर्तामोड ३ स्थित पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा ८ लाखबढी मुनाफा आर्जन गरेको छ ।

२० औं वार्षिक साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष यादवकुमारी तिम्सिनाले ८ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको बताइन् । उनले ४२ लाख ८० हजार आम्दानी र ३३ लाख ४७ हजार रुपैयाँ खर्च भएको आयव्यय प्रस्तुत गरिन् । उनले कूल शेयर पुँजी १ करोड ३ लाख ४९ हजार १०० , जगेडा कोष २३ लाख ४८ हजार ८८५ , कर्जा लगानी २ करोड , ३३ लाख , ३ हजार १६८ रुपैयाँ रहेको जानकारी दिइन् । उनले चालू आर्थिक वर्षमा शेयर पुँजी डेढ करोड , बचत २ करोड ५० लाख , जगेडा कोष ३० लाख , कर्जा लगानी ३ करोड २७ लाख ६६ हजार रुपैयाँ पु¥याउने लक्ष्य रहेको बताइन् । त्यस्तै लेखा समिति संयोजक दुर्गादेवी चुडालले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष मदन बुढाथोकीले साधारणसभाको उद्घाटन गर्दै प्रगतिको बाटोमा अगाडि बढिरहेको सो संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।कार्यक्रममा विशेष अतिथि बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले बिर्तामोडमा रहेका महिलाहरुका ११ वटा सहकारीमध्ये सो सहकारी संस्था दोस्रो स्थानमा रहेको बताए । उनले सो सहकारीका महिलाहरुले लगन र मेहनतका साथ उत्कृष्ट रुपमा संचालन गरिरहेको भन्दै प्रशंसा गरे ।

संस्थाकी अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड वडा नं ३ का सचिव भीम अधिकारी , प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी , नगरपालिकाका सहकारी तथा सामाजिक शाखाकी कर्मचारी कंचन बास्कोटा , प्रहरी चौकी बिर्ताबजारका इन्चार्ज अर्जुन कार्कीलगायतको आतिथ्य रहेको थियो ।

त्यस अवसरमा ज्येष्ठ नागरिक महेश्वरी निरौला , उत्कृष्ट बचतकर्ता पुजा ढकाल चापागाँई र उत्कृष्ट ऋणी रविना तामाङलाई सम्मान गरिएको थियो । सदस्य देवकुमारी बास्कोटाले स्वागत गरेको कार्यक्रमको संचालन उपाध्यक्ष नैनाकला ढकालले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्