बिर्तामोड, मंसिर २८ । दुर्गा मावि गरामनीका जग्गादाता उजारु राजवंशीकी श्रीमती चम्पा राजवंशीलाई भुतपूर्व विद्यार्थीको समूहले न्यानो लुगा प्रदान गरेको छ ।

चिसोमा ओढ्ने र ओछ्याउने लुगा नभएपछि दाता परिवारकी चम्पालाई सिरक , डस्ना , सिरानी , तन्नालगायतका लुगा प्रदान गरिएको दुर्गा मावि भुतपूर्व विद्यार्थी सक्रिय समूहकी कल्पना मैनालीले बताइन् । बयोबृद्धा चम्पालाई चिसोमा ओढ्ने ओछ्याउने लुगाको अभाव देखेर आफूहरुले रकम संकलन गरी सहयोग गरेको उनले बताइन् ।

दुर्गा माविलाई करोडौंको जग्गा दान दिएका राजवंशी परिवार अहिले विचल्लीमा छन् । जग्गादाता उजारु राजवंशीको गत साउनमा निधन भएको हो । श्रीमानको निधनपछि वृद्धा चम्पा झनै समस्यामा परेकी छन् । उनका लागि दुर्गा माविको अगुवाईमा घर निर्माण गरिने तयारी भइरहेको प्रधानाध्यापक कृष्ण पाठकले बताए ।उजारुकी श्रीमती चम्पा बस्ने राम्रो घर नभएपछि घर बनाइदिन लागिएको पाठकले जानकारी दिए । बिर्तामोड वडा नं ९ की वडा सदस्य सल्पना राजवंशीको उपस्थितिमा चम्पालाई सो सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा दुर्गा मावि भुतपूर्व विद्यार्थी सक्रिय समूहका कल्पना मैनाली , कृष्ण लिम्बू ,सरोज गौतम , माथ्लो लखीवारी टोल विकास संस्थाका अध्यक्ष कमल मैनाली , स्व. उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीको सहभागिता रहेको थियो ।

दुर्गा माविमा अध्ययन गरेका ०५४ , ०५५ र ०५६ सालका ब्याचका भुतपूर्व विद्यार्थीहरुले सो समूह गठन गरेका थिए । यसअघि सो समूहले सहपाठी भीम चौधरीलाई क्यान्सर भएपछि संकलन गरेर ५ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै समस्यामा परेकाहरुलाई आर्थिक सहयोग ,सेवा निवृत शिक्षकहरुलाई सम्मानलगायतका कार्यक्रमहरु गर्दै आएको समूहकी संयोजक मैनालीले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्